close

सामसङलाई उछिन्दै एप्पल बन्यो बजारमा सबैभन्दा धेरै मोबाइल पठाउने कम्पनी

टेकपाना टेकपाना

माघ ३, २०८० ९:५०

सामसङलाई उछिन्दै एप्पल बन्यो बजारमा सबैभन्दा धेरै मोबाइल पठाउने कम्पनी

काठमाडौं । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको छ । त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन पठाउने होडमा एप्पल पहिलो भएको हो ।

आईडीईसीका अनुसार एप्पलले २०२३ मा कूल २३ करोड ४६ लाख स्मार्टफोन बजारमा पठाएर उक्त कीर्तिमानी कायम गरेको छ । यता सामसङले सोही अवधिमा २२ करोड ६० लाख स्मार्टफोन बजारमा पठाएको छ । त्यसपछि साओमी र ओप्पोले क्रमशः १४ करोड ५० लाख र १० करोड ३१ लाख स्मार्टफोन बजारमा पठाएका छन् ।

आईडीसीका अनुसार अन्तिम पटक सामसङ २०१० मा सबैभन्दा बढी स्मार्टफोन बजार पुर्‍याउने कम्पनी बनेको थियो । त्यतिबेला एप्पल सबैभन्दा बढी फोन शिपमेन्ट गर्ने उत्कृष्ट पाँच कम्पनीमा पनि पर्दैनथ्यो । त्यसबेला नोकिया शीर्ष स्थानमा थियो भने दोस्रोमा सामसङ, तेस्रोमा एलजी र चौंथोमा जेडटीई थिए । ब्ल्याकबेरी सबैभन्दा बढी स्मार्टफोन बजार पुर्‍याउनेमध्ये उत्कृष्ट पाँचमा पर्थ्यो । 


 

 

आईडीसीले एप्पल बजारको ठूलो प्लेयर मात्र नभई वार्षिक रूपमा सकारात्मक वृद्धि हुने कम्पनी भएको उल्लेख गरेको छ । पछिल्लो समय प्रिमियम स्मार्टफोनको माग बढ्दै गएकाले एप्पलले उक्त सफलता हासिल गरेको आईडीसीले उल्लेख गरेको छ । आईडीसीका अनुसार एप्पलले अहिले विश्व बजारमा २० प्रतिशत बजार हिस्सा ओगटेको छ । 

आईडीसीले सामसङको प्रतिस्पर्धी बजारमा आएका अन्य ब्रान्ड ह्वावे, अनर र गुगलसँग भइरहेको जनाएको छ । विशेषगरी ह्वावेले पछिल्लो समय बजारमा ल्याएको ह्वावे मेट ६० प्रोका कारण सामसङको एस २४ अल्ट्रासँग कडा प्रतिस्पर्धा गर्न सक्ने आईडीसीको विश्लेषण छ । 

पछिल्लो समय स्मार्टफोनको शिपमेन्ट २०२२ को तुलनामा ३.२ प्रतिशतले घटेको छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० ९:५०