टेलिकमको मोबाइल सेवामा झन्डै १ करोड ग्राहक निष्क्रिय, सक्रियमा एनसेल १३ लाखले अघि
माघ १२, २०८० १३:५
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा झन्डै एक करोड ग्राहक निष्क्रिय रहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पल्ट सार्वजनिक गरेको भीएलआर (भिजिटर लोकेसन रजिस्टर) बाट यस्तो तथ्य बाहिर आएको हो ।
भीएलआरले कुनै निश्चित महिनामा कम्पनीको नेटवर्कमा सक्रिय रहेका ग्राहकहरूको सङ्ख्या मापन गर्छ । हालै सार्वजनिक गत असोज महिनाको टेलिकम्युनिकेसन्स इन्साइटमा नेपाल टेलिकमको मोबाइल सेवामा एक करोड १६ लाख ४८ हजार ९३७ ग्राहक मात्रै सक्रिय रहेको उल्लेख छ ।
जब कि कम्पनीले उक्त महिना आफ्नो जीएसएम मोबाइल सेवामा कूल ग्राहक सङ्ख्या दुई करोड आठ लाख ८७ हजार ८५९ रहेको दाबी गरेको थियो । यसबाट कम्पनीका कूल मध्ये ५५.७७ प्रतिशत ग्राहक मात्रै सक्रिय रहेकाे देखिन्छ ।
तर उता कूल ग्राहक सङ्ख्यामा टेलिकम भन्दा ७६ लाख ५३ हजार १४४ ले पछि रहेको निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सक्रिय ग्राहकमा भने टेलिकम भन्दा निकै अघि देखिएको छ । असोज महिनामा कूल एक करोड ३२ लाख ३४ हजार ७१५ ग्राहक रहेको एनसेलको नेटवर्कमा सक्रिय ग्राहकहरूको सङ्ख्या एक करोड २९ लाख ६४ हजार २१२ रहेको उल्लेख छ ।
जसमा निष्क्रिय ग्राहक सङ्ख्या केवल दुई लाख ७० हजार ५०३ मात्र छ । जुन कूल ग्राहक सङ्ख्याको ९७.९६ प्रतिशत हुन आउँछ । हाल नेपालमा टेलिकम र एनसेल गरी दुई ओटा मोबाइल सेवा प्रदायक मात्र सञ्चालनमा छन् ।
दुवै कम्पनीमा गरी कूल तीन करोड ४१ लाख २२ हजार ५७४ ग्राहक रहेको भनिए पनि सक्रिय ग्राहक सङ्ख्या भने दुई करोड ४६ लाख १३ हजार १४९ मात्र रहेको प्राधिकरणको पछिल्लो आँकडाले देखाएको छ ।
सिम बिक्री सङ्ख्याको आधारमा नेपाल टेलिकमले ६१.७८ प्रतिशत बजार हिस्सा सहित देशकै ठूलो टेलिकम कम्पनीको रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसलाई आधार बनाउँदा भने एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत मात्र हुन जान्छ ।
तर सक्रिय रूपमा कम्पनीको सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्यालाई आधार बनाउने हो भने एनसेलको बजार हिस्सा ५२.६७ प्रतिशत र टेलिकमको ४७.३३ प्रतिशत हुन आउँछ ।
पछिल्लो अध्यावधिक: माघ २१, २०८० १९:१०
