एआई साक्षरता बिना नेपालमा जथाभाबी प्रयोग हुँदै एआई, सोच्ने क्षमतादेखि गोपनीयतासम्म गुम्ने डर
असार २८, २०८३ १९:३
मानव सभ्यता इतिहासकै सबैभन्दा रोमाञ्चक र उत्तिकै जटिल मोडमा आइपुगेको छ । जब हामी सन् १९६० को दशकका ती म्याथमेटिसियन र वैज्ञानिकहरूका परिकल्पनाहरूलाई पल्टाएर हेर्छौँ, तब एउटा गजबको विरोधाभास भेटिन्छ ।
उनीहरूले एउटा यस्तो मसिनको कल्पना गरेका थिए, जसले मान्छे जस्तै सोच्न सकोस्, जसमा सुपर इन्टेलिजेन्स होस् । तर समयक्रममा प्रविधिको विकास र हाम्रो बुझाइमा एउटा ठुलो उतारचढाव आयो । हामीले एआईलाई केवल एउटा नयाँ युटिलिटी वा सूचना प्रविधिको साधारण औजार (टुल) का रूपमा मात्र बुझ्न थाल्यौँ । हामीलाई लाग्यो, "यो त हाम्रै अधीनमा रहने एउटा नयाँ प्रविधि मात्र त हो, यसलाई हामी आफ्नै तरिकाले चलाउन सकिहाल्छौँ ।"
तर आज २०२६ मा आइपुग्दा यो भ्रम पूर्ण रूपमा चिरिएको छ । एआईले केवल हाम्रो भौतिक कामलाई सजिलो बनाएको छैन, यसले त हाम्रो सोच्ने क्षमता (कग्निटिभ एबिलिटी) लाई नै सस्तो दरमा स्केल गरिदिएको छ । जुन बुद्धिमत्ता (इन्टेलिजेन्स) र विचार गर्ने शक्ति हिजोसम्म केवल मान्छेमा मात्र सीमित थियो, आज त्यो सस्तो मूल्यमा उपलब्ध एउटा प्रविधिले दुरुस्तै नक्कल गरिदिने दाबी गरिरहेको छ । मेरो विश्लेषणमा, यहीँबाट नै हाम्रो सामाजिक र आर्थिक लेयरमा नयाँ र गम्भीर चुनौतीहरू थपिएका छन् । मान्छेले के गर्ने ? श्रम बजारमा मान्छेको भूमिका के हुने ? र यो प्रविधिसँग सङ्गत गर्दा हाम्रै मस्तिष्कको क्षमता कता पुग्ने ? यी प्रश्नहरूले मलाई निरन्तर घचघच्याइ रहन्छन् ।
प्रयोगमा क्रान्ति, साक्षरता चिन्ताजनक
नेपालको कुरा गर्दा म जहिले पनि एउटा अनौठो विरोधाभास देख्छु । आज नेपालमा जोसुकैको हातमा मोबाइल छ, इन्टरनेटको पहुँच छ र उसले कुनै न कुनै रूपमा एआई चलाइरहेको छ । विद्यार्थीले होमवर्क गर्न, पत्रकारले समाचार लेख्न र कलाकारले चित्र बनाउन यसको प्रयोग गरिरहेका छन् । प्रयोगको हिसाबले हामी विश्वसँगै अगाडि छौँ । तर जब म एआई साक्षरता (AI Literacy) को कुरा गर्छु, हामी धेरै पछाडि छौँ ।
हामीले एआईलाई एउटा फेन्सी टेक्नोलोजीको रूपमा भित्र्यायौँ । यसले दुरुस्तै फोटो बनाइदिने, आवाज निकालिदिने र सोचे जस्तो लेखिदिने भएपछि हामी एउटा नयाँ गिमिकमा रमाइरहेका छौँ । टिकटकका रिलहरू हेरे झैँ यो फेन्सी प्रविधि चलाउन त हामीले सजिलै सिक्यौँ, तर यसको वास्तविक स्वरूप के हो, यसले भोलिको समाजमा कस्तो गहिरो प्रभाव पार्छ र यसको सही प्रयोग कसरी गर्नुपर्ने हो भन्ने प्राथमिक चेत हामीमा विकास हुन सकेन । प्रविधिको मिसयुज के हो र यसको ड्रब्याकहरू के हुन् भन्ने विषयमा हामी अझै स्पष्ट छैनौँ ।
शैक्षिक प्रणालीमा एआईको हस्तक्षेप
मेरो आफ्नो व्यक्तिगत रुचि र करियरको ठुलो हिस्सा शिक्षा प्रविधि (EdTech) सँग जोडिएको छ । त्यसैले शिक्षा क्षेत्रमा एआईको प्रयोगलाई म निकै मिहीन ढङ्गले नियाल्ने गर्छु । आजभोलि एउटा विद्यार्थीलाई केही गृहकार्य दियो भने उसले सिधै च्याटजीपीटी वा जेमनाई जस्ता टुलमा गएर प्रश्न सोध्छ । त्यहाँबाट आएको उत्तर हुबहु कपी गर्छ र शिक्षकलाई बुझाउँछ । यसबाट विद्यार्थी निकै चतुर र जान्ने त देखिन्छ, तर वास्तविक सिकाई कता गयो ?
विद्यार्थीले बिना कुनै बौद्धिक मेहेनत उत्तर कपी पेस्ट गर्दा उसले केही पनि सिकिरहेको हुँदैन । यो एउटा यस्तो मिराज अर्थात् भ्रम हो, जसले विद्यार्थीको मानसिक क्षमता र सोच्ने शक्तिलाई नै भुत्ते बनाइदिँदै छ । यदि विद्यालय वा विश्वविद्यालयले यसलाई नियमन गरेन भने हाम्रो सिकाउने परम्परागत भर्याङ नै भत्किनेछ ।
स्कुल कलेजहरूले एआईलाई कि त पूर्ण प्रतिबन्ध लगाउने कि त जथाभाबी छोडिदिने दुईवटा अतिवादी बाटो रोजे । यी दुवै एप्रोच गलत हुन् । एआईलाई त हिन्ट (संकेत) लिन र शङ्का लागेको विषयको स्पष्टीकरणका लागि मात्र प्रयोग गर्ने गाइडलाइन बनाइनुपर्छ ।
यसमा शिक्षकहरूको भूमिका झनै महत्त्वपूर्ण छ । शिक्षकले एआईलाई विद्यार्थीको गृहकार्य जाँच गर्ने काम सुम्पिनु हुँदैन । बरु, आफ्नो क्लासका विद्यार्थीहरूले कुन टपिकमा स्ट्रगल गरिरहेका छन् भनेर बुझ्न र उनीहरूका लागि व्यक्तिगत रूपमा सिकाउने नयाँ तरिका खोज्न एआईको सहयोग लिनुपर्छ । सिकाउने काम जहिले पनि एउटा शिक्षकले आफ्नो अभिभावकीय भूमिकाबाट मात्र गर्न सक्छ । प्रविधिले कहिल्यै पनि मानवीय संवेदना र सिकाउने कलाको विकल्प दिन सक्दैन ।
व्यावसायिक र स्वास्थ्य क्षेत्रमा गोपनीयताको सङ्कट
व्यापार र व्यवसायमा एआईले पर्सनलाइजेसन एट स्केलको ठुलो प्रमिस गर्यो । 'म तिम्रो हरेक कस्टमरसित दुरुस्तै बोल्दिन सक्छु' भन्ने एआईका च्याटबटहरू अहिले बजारमा व्यापक छन् । तर जब एउटा ग्राहकले आफू कुनै मसिन वा बटसँग कुरा गरिरहेको थाहा पाउँछ, तब उसले 'यो बिजनेसले मेरो खासै केयर गर्दैन रहेछ' भन्ने बुझ्छ र उसमा वितृष्णा जाग्छ । त्यसैले, गुनासोहरूको सेग्रिगेसन (वर्गीकरण) र विश्लेषण गर्न एआई प्रयोग गरे पनि ग्राहकसँग अन्तिम संवाद गर्ने बेलामा मानवीय स्पर्श अनिवार्य चाहिन्छ ।
झनै संवेदनशील कुरा स्वास्थ्य क्षेत्रमा छ । अहिले धेरै डाक्टरहरूको हातमा मोबाइल हुन्छ र उनीहरूले बिरामीको गोप्य मेडिकल रिपोर्टहरू सिधै च्याटजीपीटी जस्ता व्यापारिक एआई टुलहरूमा राखेर विश्लेषण गराइरहेका हुन्छन् । बिरामीसँग अनुमति नै नलिई उसको संवेदनशील स्वास्थ्य डेटा शेयर गर्दा त्यो कहाँ पुग्छ र कसरी प्रयोग हुन्छ, यसको कसैलाई हेक्का छैन ।
एआईको सबैभन्दा ठुलो समस्या के हो भने, जब ऊ गलत हुन्छ, उसलाई आफैँ गलत भएको थाहा नै हुँदैन । उ अत्यन्तै आत्मविश्वासका साथ गलत उत्तर प्रवाह गरिरहेको हुन्छ । हामी १० पटक एआई चलाउँदा ९ पटक सही पायौँ भने १० औँ पटकको गल्तीलाई ओभरलुक (अनदेखा) गर्छौँ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापर्बाही घातक हुन सक्छ । त्यसैले डाक्टरहरूले एआईको विश्लेषणलाई केवल एउटा सन्दर्भ सामग्रीका रूपमा मात्र लिनुपर्छ, अन्तिम निर्णय आफ्नै मानवीय विवेक र अनुभवबाट गर्नुपर्छ ।
बिरामीहरूले पनि अस्पताल जानुअघि एआई टुलहरूमा औषधिको खोजी गर्ने बानी रोक्नुपर्छ । एआई टुलहरूले आफैँ पनि 'म हेल्थ एक्सपर्ट होइन' भनेर लेख्ने गरे पनि मान्छेले त्यो चेतावनीलाई वास्ता नगर्दा ठुलो दुर्घटना हुन सक्छ ।
सरकारी सेवा र नीति: पहिले डिजिटाइजेसन, अनि एआई
सरकारी कार्यालयहरूमा पनि आजभोलि एआईको चर्चा चल्ने गरेको छ । तर वास्तविक रूपमा सेवा प्रवाह सुधार्ने हो भने हामीले सबैभन्दा पहिला हाम्रा म्यानुअल प्रक्रियाहरूलाई डिजिटाइज गर्नुपर्छ । जबसम्म हामीसँग सही डेटा र डिजिटल प्रक्रिया हुँदैन, तबसम्म एआईले केही गर्न सक्दैन ।
हामीले पूर्वाधारबिना सिधै एप्लिकेसनमा हाम फाल्यौँ भने त्यो दिगो हुँदैन । सरकारको पहिलो प्राथमिकता एउटा स्पष्ट एआई नीति र बलियो डिजिटल पूर्वाधार निर्माण हुनुपर्छ । एआईलाई सरकारी प्रक्रियाको ब्याक-एन्डमा फाइलहरूको छिटो विश्लेषण र वर्गीकरण गर्न प्रयोग गर्न सकिन्छ । तर स्वीकृत गर्ने वा फेल गर्ने अन्तिम निर्णय सधैँ आधिकारिक कर्मचारीकै हुनुपर्छ । निर्णय प्रक्रियामा मानवीय जवाफदेहीता सधैँ कायम रहनुपर्छ ।
सोभरेन एआई र नेपालको सामर्थ्य
पछिल्लो समय नेपालमै सोभरेन एआई वा आफ्नै मोडेल बनाउनुपर्छ भन्ने बहस निकै तातेको छ । म यस क्षेत्रमा दिनरात काम गरिरहेको व्यक्ति भएको नाताले के भन्छु भने-नेपालले सुरुदेखि (स्क्र्याचबाट) आफ्नै ठुलो मोडेल बनाउन खोज्नु मूर्खता हो । यो अत्यन्तै खर्चिलो र आर्थिक रूपमा असम्भव कुरा हो ।
हामीले गर्नुपर्ने भनेको संसारमा उपलब्ध उत्कृष्ट ओपन सोर्स मोडेलहरूलाई हाम्रो भाषा, संस्कृति र स्थानीय आवश्यकता अनुसार फाइन ट्युन गर्ने हो । र त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा, हामीले नेपाली भाषा र सन्दर्भको मूल्याङ्कन गर्न बेन्चमार्कहरू तयार गर्नुपर्छ । एआईले नेपाली बोल्यो भन्दैमा दङ्ग परेर हुँदैन । के यसले सरकारी कामकाजमा प्रयोग हुने शुद्ध शब्दहरू बुझ्छ ? कतै यसले नेपाली बोल्दाबोल्दै हिन्दी शब्दहरू त घुसाउँदैन ? यस्ता कुराहरूको कडा मूल्याङ्कन गर्ने बेन्चमार्क नबनाई हामीले एआईलाई सार्वजनिक सेवामा प्रयोग गर्न सक्दैनौँ ।
रोजगारी र नयाँ पुस्ताको भविष्य
अहिले कक्षा १२ को नतिजा आएर धेरै विद्यार्थीहरू आईटी पढ्ने सोचमा छन् । उनीहरू मलाई सोध्छन्-के एआईले हाम्रो जागिर खोस्छ ? म जहिले पनि एउटै कुरा भन्छु- एआईले कामको माग पक्कै घटाउँछ र यसले इन्ट्री-लेभल तथा मिड-लेभलको रोजगारी पाउन झनै गाह्रो बनाइदिएको छ । किनभने अब व्यवसायहरू सिधै डेलिभर गर्न सक्ने दक्ष मान्छे मात्र खोज्छन् ।
तर यसको अर्थ आईटी पढ्न छोड्ने होइन । नयाँ पुस्ताले प्रविधिको प्रयोग सँगसँगै आफ्नो म्याथ, साइन्स र म्याथमेटिक्सको जग बलियो बनाउनुपर्छ । एआई चलाउनुस्, तर आफ्नो सोच्ने क्षमता एआईलाई सुम्पिने कग्निटिभ डेलिगेसनको गल्ती कहिल्यै नगर्नुहोस् । एआईलाई आफ्नो हात बनाउनुहोस्, दिमाग होइन ।
हामी नेक्स्ट एआई (Nex AI) मार्फत यही शैक्षिक रूपान्तरणमा काम गरिरहेका छौँ । हामी नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी भाषाको मौखिक अभ्यास गर्न सक्ने र व्यावसायिक अप्रेसनलाई स्वचालित बनाउने विशेष स्थानीय टुलहरू विकास गरिरहेका छौँ । प्रविधि हाम्रो सहयोगी मात्र हो, सिकाउने र निर्णय गर्ने अन्तिम दायित्व सधैँ हाम्रै काँधमा रहन्छ ।
(लेखक रिमाल एआई विज्ञ तथा नेक्स्ट एआईका संस्थापक हुन् । रिमालले टेकपानाको एक विशेषअन्तर्वार्ताका क्रममा व्यक्त गरेका विचारहरूलाई सम्पादन गरी यो लेख तयार पारिएको हो ।)
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १९:११
