close

आईफोनमा पनि थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्ने सुविधा आउँदै

टेकपाना टेकपाना

माघ १२, २०८० १५:१

आईफोनमा पनि थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्ने सुविधा आउँदै

काठमाडौं । आईफोन प्रयोगकर्तालाई हाल एप डाउनलोड गर्न एप्पलको एपस्टोरमै भर पर्नुपर्ने बाध्यता छ । एन्ड्रोइडमा जस्तो गुगल प्ले स्टोरबाहेक अन्य माध्यमबाट एप इन्स्टल गर्ने सुविधा आईफोनमा छैन । तर युरोपेली संघको नयाँ नियमका कारण एप्पल पनि थर्ड पार्टी एपस्टोरलाई स्वीकार गर्ने अवस्थामा पुगेको छ ।

हालै ईयूले डिजिटल मार्केट एक्ट (डीएमए) नामको ऐन पारित गरेको छ, जसले एप्पलजस्ता कम्पनीहरूलाई 'गेटकिपर' को रूपमा पहिचान गर्दै बजार एकाधिकार रोक्न साइडलोडिङ एपहरूलाई पनि पहुँच दिनेछ । यसको अर्थ प्रयोगकर्ताले एप्पल एपस्टोर बाहेक अन्य एप ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गर्न सक्छन् ।

डिजिटल मार्केट एक्ट यो वर्ष अर्थात् सन् २०२४ बाटै लागू गर्ने ईयूको तयारी छ । यो नियम पालना गर्न एप्पलले ईयू क्षेत्रहरूमा साइडलोडिङ खुला गर्नुपर्ने हुन्छ । ईयू बाहिरका देशमा भने एप्पलले साइडलोडिङ प्रतिबन्ध लगाउन सक्छ ।

साइडलोडिङ सुविधा यसअघि नै एन्ड्रोइड उपलब्ध छ । तर एप्पलले भने सुरक्षा जोखिम निम्तिने भन्दै साइडलोडिङ अस्वीकार गर्दै आएको छ । यस्तो व्यवस्थाले एप्पलको आम्दानी समेत प्रभावित हुने अनुमान गरिएको छ ।

हाल एपस्टोरमा एप राख्न डेभलपरले शुल्क बुझाउनु पर्ने तथा आम्दानी बाँड्नुपर्ने व्यवस्था छ । एप्पलले थर्ड पार्टी एपस्टोरलाई पहुँच दिए एप डेभलपरले एप्पललाई बुझाउने धेरै रकम बुझाउनु पर्ने छैन ।

पछिल्लो समयमा एप्पलको एपस्टोर अभ्यास तथा आईफोन प्रयोगकर्ताको एप खरिद र डाउनलोड गर्ने विषयमा विभिन्न देशमा कानूनी बहस भइरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १५:१३