close

आईफोन १५ वा सामसङ एस २४, तपाईँका लागि कुन उपयुक्त ?

टेकपाना टेकपाना

माघ १३, २०८० २२:१९

आईफोन १५ वा सामसङ एस २४, तपाईँका लागि कुन उपयुक्त ?

काठमाडौं । स्मार्टफोन उद्योगका दुई परिचित कम्पनी हुन्, एप्पल र सामसङ । यी दुवै ब्रान्डले ल्याउने फोन हरेकका लागि प्रतिक्षित हुन्छन् । अझ वर्षमा एक पटक विशेष कार्यक्रमका बीच आउने फ्ल्यागशिप फोन जोकोही स्मार्टफोन पारखीका लागि ठूलो प्रतीक्षाको विषय बन्ने गर्छ । 

अहिले यी दुवै ब्रान्डका पछिल्ला स्मार्टफोन सिरिजले बजारमा चर्चा पाइरहेका छन् । जसमा एप्पलको आईफोन १५ सिरिज र सामसङको एस२४ सिरिज रहेको छ । यी सिरिज नेपालमा पनि उपलब्ध भइसकेका छन् । नेपालमा गत असोजदेखि आईफोन १५ सिरिजको बिक्री सुरु भएको थियो भने १२ माघदेखि सामसङ २४ सिरिज उपलब्ध भएको छ ।

आईफोन १५ सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । त्यस्तै सामसङ एस२४ सिरिजमा एस२४ एस२४ प्लस​ र एस२४ अल्ट्रा रहेका छन् ।

आईफोन १५ मा नयाँ चिपसेट, एक्सन बटन, यूएसबी-सी चार्जिङ, फेसआईडी, डाइनामिक आइल्यान्ड, परिस्कृत क्यामेरा लगायतका फिचर छन् ।

सामसङले भने एस२४ सिरिजमा एआई फिचरमा जोड दिएको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तै; लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् ।

एप्पल र सामसङका यी दुवै फोनहरूको मूल्य नेपाली बजारमा एक लाख रुपैयाँभन्दा माथि छन् । यस्तोमा तपाईंलाई कुन फोन लिऔं भन्ने अन्योल हुन सक्छ । आज हामी यिनको विशेषता, मूल्य लगायतका बारेमा चर्चा गर्ने छौं: 

डिजाइन र डिस्प्ले

आईफोन १५ को डिजाइन हेर्दा घुमाउरो किनारा र ग्लास प्यानलमा केही फरक पाउन सकिन्छ । तौल १७१ ग्राम भएको आईफोन १५ लाई आईपी ६८ रेटिङ दिइएको छ । यसको अर्थ आईफोन १५ धुलो र पानी प्रतिरोधी समेत छ । 

आईफोन १५ मा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले दिइएको छ । तर यसको रिफ्रेस रेट भने ६० हर्जमात्र छ । तर, डिस्प्लेलाई प्रिमियम अनुभव दिन एप्पलले डाइनामिक आइल्याण्ड हालेको छ ।

यता सामसङ ग्यालेक्सी एस२४ मा भने पहिलेको फोनको तुलनामा सानो बेजेल र फराकिला किनारहरू छन् । यसमा ग्लास ब्याक, मेटल फ्रेम र स्क्रिनमा सानो पञ्च होल क्यामेरा छ । त्यस्तै फोन पछाडिका क्यामेरा आईफोनको भन्दा फरक छन् । 

आईफोन १५ जस्तै एस२४ मा पनि आईपी ६८ रेटिङ छ । त्यस्तै आईफोन १५ भन्दा केही कम मात्र अर्थात् यसको तौल १६७ ग्राम मात्र छ । 

सामसङले ग्यालेक्सी एस२४ मा ६.२ इन्चको ओमेलेड डिस्प्ले दिएको छ । जसमा १२० हर्जसम्मको रिफ्रेस रेट छ । तुलनात्मक रुपमा आईफोन १५ भन्दा एस२४ को ब्राइटनेश पनि बढी पाउन सकिन्छ । आईफोनमा अधिकतम २००० निट्स छ भने एस२४ मा २६०० निट्स । 

आईफोन १५ को डिजाइनमा थपिएको नयाँ कुरा हो, टाइप-सी पोर्ट । एप्पलले युरोपेली संघको नीति मान्दै नयाँ सिरिजमा टाइप-सी पोर्ट समावेश गर्ने घोषणा गरेको थियो । 

क्यामेरा

क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स छन् । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स छन् ।

आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स छन् ।

पाँच गुणा जुम क्षमता भएको सामसङ सिरिजका फाेनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस२४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस२४ र एस२४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

प्रदर्शन र क्षमता

एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । यस वर्ष भने एप्पलले आईफोन १५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप हालेको छ । साथै गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए १६ बायोनिक चिपसेट आईफोन १५ र आईफोन १५ प्लस हालेको छ ।

सामसङले पनि आफ्नो एस२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको सामसङको भनाइ छ । अमेरिका बाहेकका देशमा उपलब्ध हुने एस२४ र एस२४ प्लसमा भने कम्पनीले एक्सिनस (Exynos) चिपसेट उपलब्ध गराउने छ ।

ब्याट्री

आईफोन १५ मा ३८७७ एमएएच क्षमताको ब्याट्री छ भने १५ प्लसमा ४९१२ एमएएच क्षमताको ब्याट्री छ । त्यस्तै आईफोन १५ प्रोमा ३६५० एमएएच र आईफोन १५ प्रो म्याक्समा ४८५२ एमएएच क्षमताको ब्याट्री छ ।

सामसङले भने एस२४ को बेस मोडेलमा ४००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । साथै एस२४ अल्ट्रामा भने ५००० एमएएच र एस२४ प्लसमा ४९०० एमएएच क्षमताको ब्याट्री समावेश छ । 

स्टोरेज

आईफोन १५ मा एप्पलले उपलब्ध गराएको उच्चतम र्‍याम ६ जीबी हो । इन्टर्नल स्टोरेजको सन्दर्भमा भने आईफोन १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबीको विकल्प छन् । आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ ।

र्‍यामको सन्दर्भमा सामसङ एस२४ मा ८ जीबी र्‍याम दिइएको छ । इन्टर्नल स्टोरेज भेरियन्ट भने २५६ र ५१२ जीबी उपलब्ध गराइएकाे छ ।

एस२४ प्लसमा १२ जीबी र्‍याम छ भने यसलाई २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ ।

त्यस्तै एस२४ अल्ट्रामा १२ जीबी र्‍याम तथा २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको छ ।

मूल्य

आईफोन १५ अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ५७ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ७६ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख १४ हजार रुपैयाँ ताेकिएको छ ।

त्यस्तै आईफोन १५ प्लस अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ७६ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ९५ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी आईफोन १५ प्रो अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९५ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको दुई लाख १४ हजार, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ५३ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ९० हजार रुपैयाँ रहेको छ ।

आईफोन १५ प्रो म्याक्स अन्तर्गत २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ७१ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य तीन लाख ९५०० रुपैयाँ ताेकिएको छ ।

यता सामसङ एस२४ अल्ट्राको १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० २२:३३