close

आईओएस २७ अपडेट: आदिवासीसहित थुप्रै नयाँ भाषा र सुधारिएको किबोर्ड सुविधा सार्वजनिक

टेकपाना टेकपाना

जेठ ३०, २०८३ २२:१६

आईओएस २७ अपडेट: आदिवासीसहित थुप्रै नयाँ भाषा र सुधारिएको किबोर्ड सुविधा सार्वजनिक

काठमाडौँ । हालै सम्पन्न भएको ‘वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स’ (डब्लूडब्लूडीसी २०२६) मा धेरैको ध्यान नयाँ ‘सिरी एआई’ र एप्पल इन्टेलिजेन्स का सुधारमा केन्द्रित भयो । तर, एप्पलले आफ्नो आगामी सफ्टवेयर आईओएस २७ मार्फत विश्वभरका प्रयोगकर्ताका लागि अर्को एउटा महत्त्वपूर्ण उपहार ल्याएको छ । यस पटक कम्पनीले किबोर्ड सपोर्ट र विभिन्न भाषाहरूको प्रयोग गर्न सकिने क्षमतामा व्यापक सुधार गरेको छ ।

एप्पलले नयाँ किबोर्ड र टाइपिङको अनुभवलाई सहज बनाउन धेरै परिवर्तन गरेको छ । यी सुधारले जुनसुकै उपकरण प्रयोग गर्ने भए तापनि सबै एप्पल प्रयोगकर्तालाई प्रत्यक्ष फाइदा पुर्‍याउने कम्पनीले जनाएको छ ।

आईओएस २७ अपडेटको महत्त्वपूर्ण पक्ष भनेको धेरै नयाँ भाषाहरूका लागि किबोर्ड लेआउट उपलब्ध हुनु हो । यसअन्तर्गत अफ्रिकी, बास्क, बेबायिन, अंग्रेजी-फिलिपिन्स, ग्यालिसियन, गुआरानी, लक्जमबर्गिस, जोसा, जुलुजस्ता भाषा समावेश छन् ।

प्रविधिको पहुँचमा पछि परेका समुदायहरूलाई लक्षित गर्दै एप्पलले यस पटक विभिन्न आदिवासी भाषाहरूको सपोर्टमा काम गरिरहेको छ । यसमा ब्ल्याकफुट (Blackfoot), कोमान्चे (Comanche), क्री (Cree), किओवा (Kiowa), सुटिना (Tsuut’ina) जस्ता भाषा रहेका छन् । सामान्यतया ठुला प्रविधि कम्पनीहरूले बेवास्ता गर्ने यस्ता भाषालाई प्राथमिकता दिएर एप्पलले प्रविधिमा समावेशिता बढाउने उद्देश्य राखेको छ ।

एप्पलले आफ्ना डिभाइसहरूलाई धेरै भाषामा टाइप गर्न अझ सक्षम बनाउन खोजेको छ । नयाँ आईओएसमा प्रयोगकर्ताले बहुभाषी (multilingual) किबोर्डका लागि अटोमेटिक पंचुएसन (स्वचालित विराम चिह्न) को सुविधा पाउनेछन् । यसले गर्दा एकभन्दा बढी भाषामा टाइप गर्नेहरूले छुट्टै प्रयास नगरी आफैँ विराम चिह्नहरू प्रयोग गर्न सक्नेछन् ।

यसका साथै, इमोजी र स्टिकर किबोर्डहरू खुल्ने समयलाई पनि घटाइएको छ, जसले गर्दा प्रयोगकर्ताले छिटो काम गर्न सक्नेछन् । ह्यान्डराइटिङ (Handwriting) कार्यक्षमतामा पनि सुधार गरिएको छ, जसमा छिटो र सही पाठ इनपुटको लागि बहुभाषी क्षमता थपिएको छ ।

चिनियाँ र जापानी भाषा टाइप गर्ने प्रयोगकर्ताहरूका लागि आईओएस २७ ले अझ राम्रो इनपुट सुझावहरू दिने भएको छ । यसले पिनयिन (Pinyin) र काना (Kana) जस्ता फोनेटिक इनपुट भाषाहरूबाट शब्द रूपान्तरण गर्ने प्रक्रियालाई थप सटीक बनाउनेछ । चिनियाँ भाषाको लागि विराम चिह्नका सुझावहरूमा पनि सुधारको अपेक्षा गरिएको छ ।

भियतनामी 'भीएनआई' किबोर्ड प्रयोग गर्नेहरूका लागि 'क्विकपाथ' (QuickPath) सपोर्ट र टाइपिङ सुझावहरू उपलब्ध हुनेछन् । साथै, प्रयोगकर्ताको व्यवहारका आधारमा भाषा र किबोर्ड सेटिङहरूका लागि 'स्मार्ट सजेसन' प्रणालीलाई अझ परिष्कृत गरिएको छ । स्लोभेनियाली र एस्टोनियाली भाषाका लागि पनि नयाँ किबोर्ड लेआउट थपिएका छन् भने क्यानडा र फिलिपिन्सको अंग्रेजी संस्करणका लागि नयाँ युजर इन्टरफेस भाषाहरू प्रणालीमा जोडिएका छन्।

यद्यपि यी सुधारले एआई जत्तिकै धेरै चर्चा नपाए पनि, एप्पलका डिभाइसहरूलाई विश्वव्यापी प्रयोगकर्ताका लागि सहज र उपयोगी बनाउन यो कदम अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । आईओएस २७ को सार्वजनिक उपलब्धतासँगै विश्वभरका आईफोन प्रयोगकर्ताहरूले अझ प्रभावकारी र छिटो रूपमा टाइप गर्न सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ २२:१६