७००० एमएएच ब्याट्रीसहित नेपाली बजारमा पोको एम ८ सिरिज सार्वजनिक, मूल्य ३८ देखि ५७ हजारसम्म
असार २१, २०८३ १६:३७
काठमाडौं । नेपालका लागि पोको स्मार्टफोनको आधिकारिक वितरक टेलिटकले ‘पोको एम८’ सिरिजका दुई नयाँ स्मार्टफोन भित्र्याएको छ । यसअन्तर्गत ‘पोको एम८एस फाइभजी’ (POCO M8s 5G) र ‘पोको एम८ प्रो फाइभजी’ (POCO M8 Pro 5G) रहेका छन् ।
पोको एम८एस फाइभजी
यस स्मार्टफोनमा ७,००० एमएएच क्षमताको ब्याट्री छ, जसलाई छिटो चार्ज गर्न ३३ वाट टर्बो चार्जिङ र अन्य डिभाइस चार्ज गर्न १८ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको फोनमा १४४ हर्जसम्मको रिफ्रेस रेट छ ।
यो फोन स्न्यापड्रागन सिक्स एस जेन थ्री प्रोसेसर, अक्टा-कोर सीपीयू र एड्रेनो जीपीयूद्वारा सञ्चालित छ । धुलो र पानीका छिटाबाट जोगाउन आईपी६४ रेटिङ दिइएको छ ।
पोको एम८ प्रो फाइभजी
‘पोको एम८ प्रो फाइभजी’ लाई एम८ सिरिजको अपग्रेडेड एडिसनका रूपमा प्रस्तुत गरिएको छ । यसमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले, १.५ के रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,२०० निट्ससम्म पिक ब्राइटनेस रहेको छ ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
फोनमा ६,५०० एमएएच क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जिङ प्रविधि रहेको छ । ४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरले २.७ गिगाहर्जसम्मको गतिसहित उच्च अक्टा-कोर कार्यसम्पादन प्रदान गर्छ ।
यो फोन पानी र धुलोबाट सुरक्षित रहने मापदण्ड आईपी६९के रेटिङसहित उपलब्ध छ ।
नयाँ फोन सार्वजनिक गर्दै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार पारिएका यी स्मार्टफोनहरूले प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै धेरै उपभोक्तासम्म गुणस्तरीय प्रविधिको पहुँच विस्तार गर्ने पोकोको प्रतिबद्धतालाई थप दृढ बनाएका छन् ।”
मूल्य, भेरियन्ट र उपलब्धता
पोको एम८एस फाइभजी कालो र सेतो रङमा उपलब्ध छ । यसको ६ जीबी र्याम + १२८ जीबी स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ३७ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम + २५६ जीबी स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, पोको एम८ प्रो फाइभजी को ८ जीबी र्याम + २५६ जीबी स्टोरेज क्षमता भएको भेरियन्ट कालो, हरियो र सिल्भर रङमा उपलब्ध छ । यसको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीले दुवै मोडेलमा एक वर्षको आधिकारिक ब्रान्ड वारेन्टीका साथै अधिकतम ९ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ । दुवै स्मार्टफोन टेलिटकका आधिकारिक शोरुम, खुद्रा बिक्रेता तथा अनलाइन प्लेटफर्म दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८३ १७:११
