close

साओमीका यी फोनमा आयो हाइपर ओएस, तपाईँले पाउनुभयो ?

टेकपाना टेकपाना

माघ १४, २०८० १४:१७

साओमीका यी फोनमा आयो हाइपर ओएस, तपाईँले पाउनुभयो ?

काठमाडौं । साओमीको नयाँ इन्टरफेस हाइपर ओएस प्रयोगकर्तामाझ उपलब्ध हुन थालेको छ । अक्टोबर २०२३ मा घोषणा गरिएको साओमीको नयाँ युजर इन्टरफेस विभिन्न डिभाइसमा उपलब्ध हुन थालेको हो ।

एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएपी) तथा एन्ड्रोइड १४ सँग सहकार्य गरेर साओमीले नयाँ अपरेटिङ सिस्टम (ओएस) डिजाइन गरेको हो । आफ्नो डिभाइस इकोसिस्टममा नयाँपन ल्याउन कम्पनीले यस्तो ओएसमा काम गरेकाे हाे ।

यो नयाँ ओएस साओमी, रेड्मी र पोको फोनमा उपलब्ध हुनेछ । अहिले कम्पनीले बजेट फोन रेड्मी १२ सीदेखि माथिका मोडेलमा नयाँ अपडेट उपलब्ध गराइरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।​ रेड्मी १२ सीको बिल्ड नम्बर '1.0.2.0.UCVINXM' मा हाइपर ओएस उपलब्ध भइसकेको छ । 

नयाँ ओएसमा के-के छन् सुविधा ?

यूआई

नयाँ हाइपरओएस अपडेटको लकस्क्रिन आईओएस जस्तै छ । त्यस्तै डाइनामिक आइल्यान्डको नोटिफिकेसन इन्टरफेस पनि यसमा पाउन सकिन्छ । क्विक सेटिङ र विजेट्स कस्टमाइज गर्न सकिनेछ । 

पर्फमेन्समा सुधार

हाइपर ओएसले फोनको स्पिड र इफिसियन्सी सुधार गर्ने दाबी गरिएको छ । नयाँ ओएस अपडेट गर्नासाथ डिभाइस छिट्टो बुट हुनुका साथै एपका लागि मेमोरी मेनेजमेन्ट पनि सजिलै गर्न सकिनेछ । 

क्रस डिभाइस कनेक्टिभिटी

हाइपर ओएसको सहायताले फोन अन्य विभिन्न डिभाइसमा सजिलै कनेक्ट गर्न सकिन्छ । विशेषगरी फाइल तथा एप ट्रान्सफर गर्न, स्क्रिन मिररिङ गर्न र क्लिपबोर्डमा भएका कन्टेन्ट शेयर गर्न सकिन्छ ।

एआई समावेश

हाइपर ओएसमा पछिल्लो समय बजारमा चर्चा पाएका जेनेरेटिभ एआई फिचर पनि समावेश छ । विशेषगरी शब्दका भरमा फोटो तथा लेख तयार पारिदिने, फोटोको टेक्स्ट उतारिदिने जस्ता फिचर उपलब्ध भएको बताइएको छ । 

यीबाहेक प्रयोगकर्ताले स्मुथ एनिमेसन, उत्कृष्ट ब्याकग्राउन्ड एप रिटेन्सन अनुभव गर्न पाउनेछन् । नयाँ ओएसलाई कम्पनीले मानव केन्द्रित ओएस भनेको छ ।

स्मार्टफोन, कार्ड र होम प्रडक्टको साओमी इकोसिस्टमलाई यो ओएसले व्यवस्थापन गर्नेछ । त्यस्तै यसमा इन्ड-टु-इन्ड सेक्युरिटी, प्रोएक्टिभ इन्टेलिजेन्स, क्रस इन्ड इन्टेलिजेन्ट कनेक्टिभिटी रहेका छन् । 

हाइपर ओएस एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) र एन्ड्रोइड १४ मा आधारित छ भने यसले स्मार्टफोन र साओमीका अन्य डिभाइस अप्टिमाइज गर्न ओपन सोर्स साओमी भेला सिस्टम (Xiaomi Vela System) प्रयोग गरेको छ । 

हालसम्म हाइपर ओएस साओमी १३ अल्ट्रा, साओमी १३ प्रो, साओमी १३, साओमी १३ टी प्रो, साओमी १३ टी, रेड्मी नोट १२, रेड्मी १२ एस, साओमी प्याड सिक्स र पोको एफ फाइभमा उपलब्ध भइसकेको छ ।

प्रयोगकर्ताले यी डिभाइसमा नयाँ हाइपर ओएस अपडेट गर्न सक्छन् । त्यसका लागि पहिले डिभाइसमा एन्ड्रोइड १४ इन्स्टल गरेको हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८० १४:२५