close

आईफोन र म्याकमा पनि यसै वर्ष जेनेरेटिभ एआई फिचर आउँदै

टेकपाना टेकपाना

माघ १९, २०८० १७:२५

आईफोन र म्याकमा पनि यसै वर्ष जेनेरेटिभ एआई फिचर आउँदै

काठमाडौं । सामसङ, गुगल, साओमीजस्तै एप्पलले पनि आफ्ना डिभाइसहरूमा जेनेरेटिभ एआई सफ्टवेयर फिचर ल्याउने भएको छ । बिहीबार २०२४ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आईफोन, म्याकजस्ता डिभाइसमा एआई फिचर ल्याउन लागेको बताएका हुन् ।

सीईओ कुकका अनुसार हाल एप्पल डिभाइसमा प्रयोग हुने एआई फिचर विकासको चरणमा छन् । २०२४ को अन्त्यसम्ममा एप्पल प्रयोगकर्ताले ती फिचर प्रयोग गर्न पाउनेछन् । तर कस्ता फिचर हुन्छन् भन्नेबारे कुकले धेरै खुलाएका छैनन् । 

आईओएस १८ एप्पलको इतिहासमै सबैभन्दा ठूलो सफ्टवेयर अपडेट हुने चर्चा चलेको छ । यसअन्तर्गत जेनेरेटिभ एआईबाट सञ्चालित स्मार्ट सिरी २.०, एआईमा आधारित प्लेलिस्ट रिकमेन्डेसन र स्मार्ट रिप्लाई हुने बताइएको छ । साथै आईओएस, आईप्याडओएस र म्याकओएसबीच एआई इन्टिग्रेसन हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १७:२९