close

एप्पल भिजन प्रो हेडसेट लगाएर टेस्लाको साइबर ट्रक कुदाएपछि...

टेकपाना टेकपाना

माघ २३, २०८० १४:२३

एप्पल भिजन प्रो हेडसेट लगाएर टेस्लाको साइबर ट्रक कुदाएपछि...

काठमाडौं । सोमबारदेखि सामाजिक सञ्जालमा एक व्यक्तिले भीआर (भर्चुअल रियालिटी) हेडसेट प्रयोग गरेर साइबर टेस्ला ट्रक चलाएको भिडिओ भाइरल बनेको छ । हालै सार्वजनिक एप्पलको भीआर हेडसेट प्रयोग गरेर चालकले टेस्ला चलाएपछि सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएका छन् ।  

१३ सेकेन्डको भिडिओमा एक व्यक्ति गुडिरहेको साइबर ट्रकभित्र रहेको देख्न सकिन्छ । उनले एप्पलको भिजन प्रो भीआर हेडसेट लगाएका छन् र त्यसलाई औंलाको सहायताले नियन्त्रण गरिरहेका छन् । 

सो भिडिओ भाइरल भएपछि यूएस ट्रान्सपोर्टेसनका सेक्रेटरी पीट बुटिगीगले त्यस्ता विषयमा चालक संवेदनशील हुनुपर्ने बताएका छन् ।

“आज उपलब्ध सबै एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम मानव चालकको नियन्त्रणमा हुन आवश्यक छ भने ड्राइभिङ काममा चालक पूर्ण रूपमा त्यसैमा संलग्न हुनुपर्छ,” भिडिओ शेयर गर्दै पीटले एक्समा लेखेका छन् ।

पछिल्लो समय एप्पलले बजारमा उपलब्ध गराएको भीआर हेडसेटको चर्चा अत्यधिक भइरहेको छ । एउटा डिभाइसको सहायताले भर्चुअल संसार तयार पारेर त्यसैमा आफ्नै काम गर्न सकिने भएपछि यो डिभाइसको चर्चा बढेको हो ।

एप्पलले भने सवारी चलाउँदा, साइकल चलाउँदा, हेभी मेसिनरी काम गर्दा यो डिभाइस प्रयोग नगर्न सुझाव दिएको छ । ​भाइरल भिडिओका सन्दर्भमा भने कम्पनीले कुनै प्रतिक्रिया दिएका छैन । 

टेस्लाको साइबर ट्रकमा अटोपाइलटको सुविधा दिइएको छ । एड्भान्स्ड ड्राइभर असिस्टेन्स प्रविधि प्रयोग गरिएको यो गाडीलाई अर्धस्वचालित ड्राइभिङ प्रविधिका रूपमा विश्लेषण गरिएको छ । यसलाई प्रयोग गर्न मानव सहायता आवश्यक पर्छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १४:४१