close

विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई ५० हजारसम्म सहयोग दिंदै टुटल

टेकपाना टेकपाना

चैत ५, २०८० १०:५७

विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई ५० हजारसम्म सहयोग दिंदै टुटल

काठमाडौं । नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलले न्यु ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्ने राइडरलाई ५० ाजार रुपैयाँसम्म सहयोग गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटर निर्माता कम्पनी इको इन्फिनिटीसँगको साझेदारीमा यस्तो अफर घोषणा गरेको हो ।

वातावरणमैत्री यातायातको प्रवर्द्धन गरी स्वच्छ वातावरणलाई बढावा दिने र नेपालको यातायात परिदृश्यमा क्रान्ति ल्याउने उद्देश्यका साथ यस किसिमको सहकार्य थालिएको टुटलले जनाएको छ । वायु प्रदूषणको एउटा मुख्य कारक नेपालको यातायात क्षेत्र हो, जसले देशको वातावरणीय स्वास्थ्यको लागि ठुलो चुनौती खडा गरेको छ ।

यो समस्या तत्काल सम्बोधन गर्नुपर्ने विश्वास व्यक्त गर्दै कम्पनीले आफ्नो सञ्चालनमा समेत दिगो अभ्यासलाई बढावा दिने प्रतिबद्धता समेत जनाएको छ । "यस साझेदारी मार्फत टुटल राइडरहरूले किनेका प्रत्येक एनआईयू स्कुटरका लागि टुटलले ५० हजार रुपैयाँसम्म सहयोग गर्न सक्नेछ," एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ।

यसले प्रयोगकर्तालाई दैनिक यात्राका क्रममा पर्यावरण- अनुकूल विकल्प छनौट गर्न र आफ्ना कारण हुने कार्बन उत्सर्जन घटाउन सहयोग पुर्‍याउनेछ । टुटलले आफ्ना राइडरहरूका लागि "हन्ट" (Hunt) नामक नयाँ लक्ष समेत घोषणा गरेको छ ।

जसले सबैभन्दा धेरै राइड पूरा गर्न र कमाई बढाउन सहयोग पुर्‍याउनेछ । दैनिक, साप्ताहिक वा मासिक रूपमा त्यस्ता लक्ष रहने बताइएको छ । "प्रत्येक हन्ट समापनमा राइडरलाई उनीहरूले पूरा गरेका लक्षको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ । यसबाट राइडरहरूको आयमा ‌बृद्धि हुनेछ," कम्पनीले अगाडि भनेको छ ।

५० प्रतिशत राइडरहरू विद्युतीय सवारीमा परिवर्तन होऊन् भन्ने आफ्नो चाहना भएको टुटलका प्रबन्ध निर्देशक रुबिक जोशीले बताए । "जसले भविष्यमा देशको वातावरणलाई सुधार्न मद्दत गर्नेछ," उनले भने । "भावी पुस्ताका लागि हरित र स्वच्छ वातावरण बनाउने यो हाम्रो सानो पहल हो ।"

यात्रुहरूलाई विद्युतीय सवारी प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ टुटलले तीन महिने अभियान समेत सुरु गरेको छ । जसमा राइडरहरूले न्यु स्कुटर जित्नका लागि अभियान अवधिभर ३०० राइड पूरा गर्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १०:५७