close

दुई करोड बढीमा बिक्री भयो स्टिभ जब्सले हस्ताक्षर गरेको बिजनेस कार्ड

टेकपाना टेकपाना

चैत १२, २०८० १५:३०

दुई करोड बढीमा बिक्री भयो स्टिभ जब्सले हस्ताक्षर गरेको बिजनेस कार्ड

काठमाडौं । स्टिभ जब्सको हस्ताक्षर भएको एप्पल कम्प्युटर बिजनेस कार्ड एक लाख ८१ हजार १८३ डलर (करिब दुई करोड ३९ लाख रुपैयाँ) मा लिलामीमा बिक्री भएको छ । अमेरिकाको बाेस्टन सहरमा रहेको आरआर अक्सनमा उक्त दुर्लभ बिजनेस कार्ड बिक्री भएको हो ।

सन् १९८३ मा जब्सले हस्ताक्षर गरेको उक्त बिजनेस कार्डको सुरुवाती मूल्य १२ हजार ९०५ डलर कायम गरिएको थियो । र लिलामीमा उक्त मूल्य बढ्दै गएर एक लाख ८१ हजार १८३ मा बिक्री भएको हो । 

सो बिजनेस कार्डको सबैभन्दा माथिपट्टि एप्पल कम्प्युटरको लोगो राखिएको देख्न सकिन्छ । उक्त लोगोको तल स्टिभ जब्स लेखिएको छ । त्यसभन्दा तल ‘चेयरम्यान’ लेखिएको छ भने त्यसको तल उनको पद ‘बोर्ड अफ डाइरेक्टर्स’ लेखिएको छ । 

कार्डको तलपट्टि एप्पल कम्प्युटरको लोकेसन र त्यसभन्दा तल उनको फोन नम्बर राखिएको छ । र, स्टिभ जब्सले साइन दायाँपट्टि गरेका छन् । उक्त साइन प्रस्ट पढ्न सकिन्छ । 

विभिन्न सञ्चार माध्यमले सो कार्ड यूएस प्रोफेसनल स्पोर्ट्स अथेन्टिकेटर’ले प्रमाणित गरेको उल्लेख गरेका छन् । इनक्याप्सुलेसन टिकेटका अनुसार उक्त कार्ड ‘पीएसए/डीएनए’ सर्टिफाइड छ । 

त्यस्तै यो कार्डले ‘जेम एम टी १०’ ग्रेडिङ समेत प्राप्त गरेको छ । ४० वर्षभन्दा पुरानो यस कार्डको कलर पनि केही खुइलिएको छ ।

सो बिजनेस कार्ड बाहिर आउँदाको बखत स्टिभ जब्स एप्पल कम्प्युटरको बोर्ड अफ डिरेक्टरको चेयरम्यान थिए । कम्पनीले सन् १९८४ मा पहिलो म्याक सार्वजनिक गरेको थियो । त्यतिबेला एप्पलका सीईओ जोन स्कली थिए ।  

मे १९८५ मा कम्पनीमा लफडा भएपछि स्टिभ जब्स आफ्नो सम्पूर्ण भूमिकाबाट बाहिरिए र त्यही कम्पनीको प्रतिद्वन्द्वी कम्पनी सञ्चालन गर्ने सङ्कल्प बोके । कम्पनीबाट बाहिरिएसँग जब्सले नयाँ कम्पनी नेक्स्ट इङ्क सुरु गर्न त्यहाँका कर्मचारी आफूसँगै लिएर गए । तर, नेक्स्ट इङ्क जब्सले सोचे जस्तो सफल कहिल्यै भएन । जेहोस् नेक्स्ट जब्सको जीवनको सबैभन्दा महत्त्वपूर्ण अवधिका रूपमा जोडिएको छ । त्यही कम्पनीको अनुभवले गर्दा उनले पछि एप्पलमा सीईओको भूमिका निर्वाह गर्न सके । त्यस्तै त्यही अवधिमा जब्सले पिक्सार एनिमेसन स्टुडियोमा पनि लगानी गरेका थिए । त्यही लगानीका कारण जब्स अर्बपति समेत बने । 

सन् १९९६ मा जब्स पुनः एप्पलमै फर्किए । त्यतिबेला कम्पनी गिल एमिलियोले सञ्चालन गरेका थिए । एप्पल पनि खराब अवस्थाबाट गुज्रिरहेको थियो । एमिलियोले कम्पनी छोडेपछि त्यसको नेतृत्व स्टोभ जब्सले लिए । त्यसरी एप्पलमा सीईओको भूमिकामा आएपछि उनले कम्पनीमा आमूल परिवर्तन ल्याए । उनैले एप्पलको स्मार्टफोन आईफोन पनि बजारमा ल्याए । उनी स्टिभ जब्सको निधन सन् २०११ मा ५६ वर्षको उमेरमा भए । हाल एप्पलको सीओई टिम कुक रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १३:२५