close

फेसबुकमा अब कमेन्ट पनि एआईले नै लेखिदिने !

टेकपाना टेकपाना

बैशाख ७, २०८१ ११:२०

फेसबुकमा अब कमेन्ट पनि एआईले नै लेखिदिने !

काठमाडौं । फेसबुकमा अब कमेन्ट पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ ।

मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयाेगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । 

जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा एआई इन्टिग्रेट हुनेछ । यी एपकाे सबैभन्दा माथि एआईको अप्सन देखिनेछ । त्यहीँ ट्याप गरेर प्रयोगकर्ताले आफूले चाहेका प्रश्न सोध्न सक्नुका साथै त्यसलाई चाहेअनुसार निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

उक्त फिचर आएपछि प्रयोगकर्ताले फेसबुकमा राख्ने कमेन्ट पनि एआईबाटै तयार पार्न सक्नेछन् । हुन त अहिले पनि कुनै फोटो वा पोस्ट‍को कमेन्ट सेक्सन हेर्ने हो भने त्यहाँ पहिले नै तयार पारिएका कमेन्टहरू देख्न सकिन्छ । तर, अब भने ती कमेन्ट आफैंले एआईको सहायताले तत्कालै तयार पार्न सकिनेछ । 

यो फिचर पाइसकेका प्रयोगकर्ताका अनुसार कमेन्ट स्पेसमा ‘कमेन्ट विथ एआई’को अप्सन राखिएको छ । त्यही अप्सनमा ट्याप गरेर कमेन्ट लेख्न सकिने बताइएको छ । 

मेटाको एललामा (LLaMA) टु जेनेरेटिभ मोडेलमा आधारित यो टुलले मानव शैलीमै कमेन्ट लेख्न सक्नेछ । विशेषगरी फोटो, पोस्टको अवस्था हेरेर त्यसका लागि कस्तो कमेन्ट आवश्यक पर्छ भन्ने विश्लेषण गर्छ र त्यसैका आधारमा कमेन्ट तयार पार्छ ।

कतिपयले फेसबुकमा निराश हुने किसिमका पोस्ट राखेका हुन्छन् । त्यस्तोमा एआईले प्रेरणादायी कमेन्ट लेख्न सघाउनेछ । 

अहिले यी फिचर घोषणा गरिएको भए पनि सबै प्रयोगकर्ताले कहिले प्रयोग गर्न पाउँछन् भन्ने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १३:७