काठमाडौं । युट्युब भिडिओ रोक्दा अर्थात् पज गर्दा विज्ञापन देखाउनेगरी गुगलले नयाँ फिचर ल्याउने भएकाे छ । यो फिचर कम्पनीले केही सीमित प्रयोगकर्तामाझ परीक्षण गरिसकेको छ ।
विशेषगरी टिभीमा युट्युब भिडिओ हेर्ने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यस्तो फिचर ल्याउन लागेको हाे । यो फिचर आएपछि तपाईंले युट्युबमा भिडिओ पज गर्नुभयो भने त्यही समयमा विज्ञापन देखिनेछ, जसलाई तपाईंले स्किप गर्न सक्नुहुन्न ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार परीक्षणका क्रममा यस फिचरले सकारात्मक प्रतिक्रिया पाएकाले गुगल चाँडै नै सबैका लागि उपलब्ध गराउने योजनामा छ ।
यस्ता विज्ञापनबाट मुक्ति पाउन प्रयोगकर्ताले युट्यबको प्रिमियम सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । हाल कम्पनीले यो फिचर कहिलेदेखि उपलब्ध हुन्छ भन्ने जानकारी दिइसकेको छैन । यद्यपि स्मार्ट टिभीमा युट्युब भिडिओ हेर्ने प्रयोगकर्ताबाट पनि राम्रै आम्दानी गर्न कम्पनीले यस्तो कदम चालेको छ ।