close

मातातीर्थ औंसीमा आफ्नी आमालाई दिनुहोस् यी ग्याजेट उपहार

टेकपाना टेकपाना

बैशाख २५, २०८१ १३:२८

मातातीर्थ औंसीमा आफ्नी आमालाई दिनुहोस् यी ग्याजेट उपहार

काठमाडौं । आमालाई खुसी राख्न कुनै दिन वा साइत जुराइरहनु पर्दैन । तर हामी सधैंभर आमालाई आफ्नो माया पनि जताइ राख्दैनौं । तैपनि वर्षमा एउटा यस्तो दिन छ, जुन दिन हामी आमालाई आफ्नो सारा भावनाहरू पोख्ने गर्छौं । त्यो हो, आमाको मुख हेर्ने दिन, अर्थात् मातातीर्थ औंसी । त्यसोभए आदर्श दिनमा आमालाई माया अभिव्यक्त गर्न यो वर्ष उपहारमा ग्याजेट दिऔं न त ! अब सोच्नुहुन्छ होला, आमालाई दिने ग्याजेट के हुन सक्छ ?

पछिल्लो समयलाई नियालेर हेर्ने हो भने पुरानो पुस्ता प्रविधिसँग त्यति धेरै अभ्यस्त नभएपनि मोबाइल, ट्याब्लेट, इयरबड लगायतका डिभाइसहरू भने प्रयोग गर्न थालिसकेका छन् । त्यसैले यो पटकको आमाको मुख हेर्ने दिनमा आमालाई उपयोगी हुने कुनै डिभाइस दिने होइन त ? आजको यो लेखमा हामी यही विषयमाथि चर्चा गर्नेछौं:

१. मोबाइल 

आजको दिनमा सबैभन्दा महत्त्वपूर्ण ग्याजेटमा मोबाइल पर्ने गर्छ । फोन गर्न मात्र नभएर हाम्रो दैनिकीलाई आवश्यक पर्ने विभिन्न कामकाजका लागि मोबाइल नभइ नहुने भइसकेको छ । 

अब यदि आमाले बारफोन प्रयोग गरिरहनु भएको छ भने अपग्रेड गर्ने समय भयो नि, होइन र ? तपाईंले आफ्नो बजेट अनुसार आमालाई बजारमा उपलब्ध भएका स्मार्टफोन दिन सक्नुहुन्छ । 

यदि आमा गाउँमा बस्नुहुन्छ, धेरै फिचरहरू प्रयोग गर्न आउँदैन भने तपाईंले ब्याट्री लामो समय टिक्ने, रिफ्रेस रेट राम्रो भएको र स्क्रिन ठूलो भएको सामान्य स्मार्टफोन रोज्न सक्नुहुन्छ । 

आजभोलि त आमाहरूलाई पनि कम्तीमा युट्युब हेर्ने र फेसबुक चल्ने अनि क्यामेरा भएको मोबाइल चाहिन्छ । त्यसैले कति बजेटभन्दा पनि आमाले कस्तो फिचर धेरै प्रयोग गर्नुहुन्छ वा गर्न सक्नुहुन्छ, त्यस हिसाबले फोन खरिद गरिदिन सक्नुहुन्छ ।

पछिल्लो समय बजारमा चलेको ब्रान्डमा रेड्मी, अनर, भिभो, सामसङ जस्ता ब्रान्डलाई यसका लागि आधार बनाउन सक्नु हुन्छ । अथवा आईफोन पनि एउटा राम्रो विकल्प हुन सक्छ । यदि तपाईंको बजेट राम्रो छ, अनि आमा पनि ‘टेक स्याभी’ हुनुहुन्छ भने आईफोन आफैंमा एउटा सुन्दर उपहार हो । 

२. इयरबड/नेक ब्यान्ड/हेडफोन 

अहिले तारवाला (वायर्ड) इयरफोनकाे क्रेज लगभग हटिसकेकाे छ । मल्टिटास्किङको लागि सहज र प्रयोग गर्न पनि सहज हुने भएकाले मानिसहरू वायरलेस इयरबड वा नेक ब्यान्डहरू नै प्रयोग गरिरहेका हुन्छन् । यस्तोमा हाम्री आमाले उही पुरानो तारवाला इयरफोन प्रयोग गरेपनि हुन्छ भन्ने कुरा पनि त भएन नि, होइन र ? 

यदि आमा गीत सुन्न मन पराउनु हुन्छ वा इयरफोन धेरै प्रयोग गरिरहनुहुन्छ, इयरफोन लगाएर घरका अन्य कामहरू गरिरहनु हुन्छ भने आमालाई यो पटक इयरबड वा नेक ब्यान्ड उपहार दिनुहोस् । 

अहिले बजारमा एक पटकको चार्जमा फाटफुट चलाउँदा कम्तीमा पनि एक हप्ता टिक्ने इयरबडहरू सहज मूल्यमा नै पाइन्छ । अल्टिमा, बोट, एरोज, हाइटेक लगायतका ब्रान्डहरूले तीन हजार रुपैयाँसम्मको मूल्यमा नै इयरबड/नेक ब्यान्ड उपलब्ध गराइरहेका छन् । 

अथवा आमाले प्रयोग गर्नुहुने मोबाइलको आधारमा सोनी, सामसङ लगायत ब्रान्डका इयरबड पनि दिन सक्नुहुन्छ । अब यदि आमाले आईफोन प्रयोग गर्नुहुन्छ भने त यसको लागि एयर पड्सको विकल्प नै भएन । 


३. ब्लुटुथ स्पिकर

इयरबड को कुरा गर्दैगर्दा ब्लुटुथ स्पिकर पनि एउटा राम्रो उपहार हुनसक्छ । यदि आमा गीत सुन्न मन पराउनुहुन्छ, अथवा रेडियो सुन्दै काम गर्न मन पराउनुहुन्छ भने ब्लुटुथ स्पिकर उपयुक्त हुन्छ । 

अहिले बजारमा रेडियो चल्ने, मेमोरी कार्ड राख्ने पोर्टेबल स्पिकरहरू पनि पाइन्छन् । तपाईंले यस्ता स्पिकर छानेर आमालाई उपहार दिन सक्नुहुन्छ ।

बजारमा अल्टिमा, एक्स-एज, जेबीएल, सोनी, बोट, सेनाइजर लगायतका पोर्टेबल ब्लुटुथ स्पिकरहरू उपलब्ध छन् । आफ्नो बजेट र आवश्यकता अनुसार तपाईंले तीमध्ये कुनै एक कम्पनीको उत्पादन खरिद गर्न सक्नुहुन्छ ।    

४. स्मार्टवाच/फिटनेस ब्यान्ड

हामीले लगाउने घडी पनि अब त स्मार्ट भइसकेको छ । घडीले समय बताउने मात्र होइन, फोन गर्ने, हाम्रो स्वास्थ्य अनि निद्राको ख्याल राख्ने लगायतका अनेकौं काम गर्छ । 

साँच्चै भन्ने हो भने स्मार्टवाच वा फिटनेस ब्यान्ड हाम्रा आमाहरूको लागि अति आवश्यक पनि छ । उहाँहरूको स्वास्थ्यको रेकर्ड राख्न, रक्तचाप, मुटुको धड्कन ट्रयाक गर्ने देखि लिएर, आमा दिनमा कति हिँड्नु भयो लगायतका कुराका लागि पनि स्मार्टवाच उपयोगी हुन्छ ।

त्यसमाथि आमाहरू प्राय फोन एकातिर राखेर अर्कोतिर काम गरिरहनु भएको हुन्छ । फोन गर्दा फोन उठाउन समय लाग्ने, फोन रिसिभ नहुने समस्या त सामान्य नै हुन् । अनि टक्क हातमा स्मार्टवाच भएपछि फोन जता भएपनि हातमै फोन उठाएर बोल्न मिल्ने भएपछि ढुक्क भएन त !

यसको लागि ब्लुटुथ कलिङ फिचर भएको स्मार्टवाच भने हुनुपर्छ । तर यदि तपाईं आमाको स्वास्थ्यलाई मात्र ध्यानमा राख्न चाहनुहुन्छ भने फिटनेस ब्यान्ड खरिद गर्न सक्नुहुन्छ ।     

५. आईप्याड/ट्याब्लेट 

आमालाई दिन सकिने अर्को उपहार हो, ट्याब्लेट वा आईप्याड । डिभाइसहरूसँग आमा अभ्यस्त हुनुहुन्छ वा कार्यालयमा काम गर्ने हुनुहुन्छ भने आईप्याड वा ट्याब्लेट उपयुक्त उपहार हुन सक्छन् । 

आमा गृहिणी हुनुहुन्छ भने पक्कै पनि ल्यापटप वा डेस्कटप नचलाउन सक्नुहुन्छ । यस्तोमा युट्युब सर्फिङ वा इबुक अध्ययनका लागि ट्याब उपयुक्त हुन्छ । आमालाई ट्याब प्रयोग गर्न आउँदैन भने पनि तपाईंले सहजै प्रयोग गर्न सिकाउन सक्नुहुन्छ । 


साओमी, लेनोभो, सामसङ लगायतका अनेकौं धेरै फिचर भएका ट्याबहरू सस्तो मूल्यमा पनि पाइन्छन् । त्यसैले तपाईं यता पनि लाग्न सक्नुहुन्छ । 

६. बडी मसाजर

उमेर बढ्दै गएपछि शरीर पनि कमजोर हुन थाल्छ । ढाड दुख्ने, घुँडा दुख्ने लगायतका अनेकौं समस्याहरू प्राय: हाम्रा आमाहरूमा देखिन्छ । सामान्यत: महिलाहरूलाई तुलनात्मक रूपमा हड्डीको समस्या धेरै हुने गर्छ । 

त्यसैले बडी मसाजर जस्तो उपयुक्त उपहार आमाको लागि अरू नहुन सक्छ । अहिले बजारमा विभिन्न प्रकारको मसाज गनहरू पाउन सकिन्छ, जुन प्रयोग गर्न पनि सहज हुन्छन् । मिनी बडी मसाजर, भाइब्रेटिङ मसाजर खरिद गर्नुभयो भने अझ राम्रो हुन्छ । 

कुनै ‘स्पेसिफिक बडी पार्ट’को लागि मात्र भनेर खरिद गर्दा अरू बेला काम नआउन सक्छ । त्यसैले बडी मसाजर कुनै स्पेसिफिक भन्दा पनि ‘जनरल युज’ हुने खालको नै किन्नु उपयुक्त हुन्छ । अनुहारको लागि मात्र हो भने फेस मसाजर लिनु उचित हुन्छ । यी ग्याजेटहरूको कुरा गरिसकेपछि अब भन्नुहोस् आफ्नी आमालाई दिनको लागि तपाईंले के छान्नुहुन्छ ?

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १६:२८