काठमाडौं । दाङ, सल्यान, रुकुम लगायतका जिल्लामा नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित भएको छ । सडक विस्तारका क्रममा एडीएसएस केवलमा क्षति पुग्दा टेलिकमको सेवामा समस्या देखिएको हो ।
“दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा चपटाको नजिक डोजर चलाउँदा केवलमा क्षति पुगेको छ,” नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले टेकपानासँग भने, “हाम्रो सबै नेटवर्क त्यतैबाट गएको छ । जसका कारण टेलिफोन, इन्टरनेट लगायतका सेवामा समस्या देखिएको हो ।”
उनका अनुसार सेवा प्रवाहित भएको ठाउँमा नेटवर्क पुरै डाउन भने भएको छैन । तर सबै ट्राफिक धान्न सक्ने अवस्था नभएको उनले जनाए । अहिले उक्त ठाउँमा मर्मतका लागि प्राविधिक टोली पुगिसकेको पनि उनले बताए । विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा चढ्नु पर्ने भएकाले र ती कर्मचारी तेस्रो पक्षबाट लगाउनु पर्ने भएकाले केही समयभित्रमा नै सेवा सुचारु हुने उनको भनाइ छ ।