प्रयोगकर्तालाई प्रम्ट इन्जेक्सन आक्रमणबाट जोगाउन च्याटजीपीटीले ल्यायो लकडाउन मोड, कसरी प्रयोग गर्ने ?
जेठ २४, २०८३ ८:५८
काठमाडौँ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्ना प्रयोगकर्तालाई प्रम्प्ट इन्जेक्सन (prompt injection) आक्रमणहरूबाट जोगाउन लकडाउन मोड (Lockdown Mode) नामक एक वैकल्पिक सुरक्षा सेटिङ सार्वजनिक गरेको छ । यो सुविधा विशेष गरी संवेदनशील डेटा ह्यान्डल गर्ने व्यक्ति र संस्थाहरूका लागि डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार विशेषगरी डेटा चोरी (data exfiltration) को जोखिम कम गर्न चाहने प्रयोगकर्ताका लागि यो फिचर उपयोगी हुनेछ । प्रम्प्ट इन्जेक्सन एक प्रकारको सोसल इन्जिनियरिङ हो, जहाँ आक्रमणकारीहरूले वेबसाइट वा पीडीएफ कोडहरूमा मालिसियस इन्स्ट्रक्सन (निर्देशन) लुकाउँछन् ।
जब एआई प्रणालीले ती सामग्रीहरू पढ्छ, ती लुकेका निर्देशनहरूले एआईलाई झुक्याएर प्रयोगकर्ताको संवेदनशील जानकारी बाहिर पठाउन वा गलत काम गर्न बाध्य पार्न सक्छन् । सन् २०२५ को अध्ययन अनुसार एन्थ्रोपिक र परप्लेक्सिटी जस्ता एआई प्रणालीहरूमा पनि यस्ता सुरक्षा कमजोरीहरू पाइएका थिए ।
लकडाउन मोडले कसरी काम गर्छ ?
यो मोडले च्याटजीपीटीको इन्टरनेट र बाह्य सेवाहरूसँग जडान हुने क्षमतालाई सीमित गरिदिन्छ । त्यस क्रममा यसले लाइभ वेब ब्राउजिङमा प्रतिबन्ध लगाउँछ । प्रयोगकर्ताले ताजा वेब सामग्रीको सट्टा केवल क्याश गरिएका सामग्रीमा मात्र पहुँच पाउँछन् ।
त्यस्तै इन्टरनेटबाट तस्बिरहरू तान्न वा प्रतिक्रियामा देखाउन सकिँदैन । यद्यपि प्रयोगकर्ताले आफैँ फोटो अपलोड गर्न वा नयाँ तस्बिर सिर्जना (generate) गर्न भने सक्छन् ।
यस बाहेक च्याटजीपीटीले विश्लेषणका लागि फाइलहरू डाउनलोड गर्न सक्दैन । तर प्रयोगकर्ताले म्यानुअल रूपमा डकुमेन्ट अपलोड गर्न भने सक्छन् ।
यसैगरी डिप रिसर्च, एजेन्ट मोड र डेभलपर मोड यस क्रममा पूर्ण रूपमा बन्द हुन्छन् । साथै क्यानभासबाट सिर्जित कोडले नेटवर्कमा पहुँच पाउँदैन ।
ओपनएआईका अनुसार यो मोडले मेमोरी, फाइल अपलोड गर्ने क्षमता, कुराकानी शेयर गर्ने सुविधा वा मोडेल सुधारका लागि डेटा प्रयोग हुने कुरामा भने कुनै परिवर्तन गर्दैन ।
कसरी सक्रिय गर्ने ?
यो सुविधा निःशुल्क प्रयोगकर्ताहरू सहित सबै व्यक्तिगत र बिजनेस अकाउन्टहरूका लागि उपलब्ध छ । यसलाई सक्रिय गर्न सबैभन्दा पहिला च्याटजीपीटीको Settings मेनुमा जानुहोस् ।
त्यहाँबाट Safety and security (वा Security) विकल्प छान्नुहोस् र Advanced security अन्तर्गत रहेको Lockdown mode लाई On गर्नुहोस् ।
यदि आवश्यक परेमा कुनै निश्चित च्याटका लागि Manage मा गएर यो सेटिङलाई अस्थायी रूपमा बन्द (Turn off for this chat) पनि गर्न सकिन्छ ।
लकडाउन मोडका अलावा ओपनएआईले एक एक्टिभ सेसन म्यानेजर (active session manager) पनि सुरु गरेको छ । जसबाट प्रयोगकर्ताले आफ्नो अकाउन्ट लग-इन भएका सबै डिभाइस र ब्राउजरहरू हेर्न सक्छन् । यहाँबाट शङ्कास्पद गतिविधि देखिएमा प्रयोगकर्ताले एकै पटक सबै सेसनबाट लग-आउट गर्न सक्छन् । जसका लागि अधिकतम ३० मिनेटसम्म लाग्न सक्छ ।
लकडाउन मोडले प्रम्प्ट इन्जेक्सनका सबै नयाँ र जटिल तरिकाहरू विरुद्ध १००% ग्यारेन्टी भने नदिने कम्पनीले स्पष्ट पारेको छ । तर यसले डेटा चोरी हुने सम्भावनालाई निकै कम गर्छ ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १०:२१
