काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरिएको छ । मंगलवार एक सूचना निकाल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त दिन आह्वान गरेको हो ।
उक्त पदमा ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवाप्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था तथा निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका व्यक्तिले नियुक्त हुन चाहेको व्यहोरा, योग्यता, अनुभव र सम्पर्क खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणपत्र, बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना सहित आवश्यक कागजात लिएर १५ दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त बुझाउनु पर्नेछ ।
उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना र सोको प्रस्तुति, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिको लागि मन्त्रालयसमक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ ।