close

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ? यसबाट कसरी बच्ने ?

टेकपाना टेकपाना

असार ४, २०८१ ८:५८

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ? यसबाट कसरी बच्ने ?

काठमाडौं । स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (Cell phone blindness) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ ।

सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तै: कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश पर्छन्, त्यसबेला सो प्रकाशमा आँखालाई अभ्यस्त हुन केही समय लाग्छ । जसले गर्दा सेल फोन अन्धोपन हुन सक्छ । 

सरल भाषामा बुझ्दा एकोहोरो एउटै प्रकाश (अँध्यारो/उज्यालो) हेरिरहेको आँखा अपर्झट अर्को प्रकाश (अँध्यारो/उज्यालो) हेर्दा यस्तो समस्या हुने गर्छ । 

लक्षणहरू

एउटा आँखाले नदेख्नु: स्मार्टफोन चलाइरहँदा अचानक एउटा आँखाले नदेख्नु यो समस्याको लक्षण हुन सक्छ । तर सो समय छोटो हुन्छ । आँखामा केही परे जस्तो भान हुन्छ ।

मधुरो देख्नु: स्मार्टफोनमा भएका टेक्स्ट, फोटो/भिडिओ आदिलाई औसत दुरीबाट पनि पढ्न/हेर्न सक्नुहुन्न अथवा मधुरो देख्नु हुन्छ ।

आँखा दुख्नु: लामो समयसम्म स्क्रिन प्रयोग गरेपछि आँखा पनि थाक्ने गर्छ । नियमित अथवा तुलनात्मक रूपमा अलि बढी दुख्नुलाई यसको लक्षण मान्न सकिन्छ । जुन दुखाइ प्रकाशको अवस्था अनुसार फरक फरक हुन सक्छ । 

समाधानहरू

अँध्यारोमा फोन प्रयोग नचलाउने: सेल फोन अन्धोपनको प्रमुख कारण फरक फरक प्रकाश हुनु हो । त्यसो हुँदा रातको समयमा बढी फोन चलाउने बानी छ भने त्यो छाड्नुहाेस् । यदि चलाउनै पर्ने अवस्था छ भने पनि आँखालाई प्रभाव नपार्ने गरी बत्ति बालेर चलाउन सक्नुहुन्छ । 

नाइट मोड अन गर्ने: प्राय: स्मार्टफोनमा नाइट मोड हुने गर्छ । रातको समयमा फोन चलाउनलाई नै यो मोड बनाइएको हो । यसले स्मार्टफोनबाट निस्कने ब्लू लाइटलाई रोक्ने गर्छ । 

ब्रेक लिनु: लामो समय स्क्रिनमा बस्नका लागि एउटा नियम छ, २०/२०/२० । अर्थात् आँखालाई राहत दिन हरेक २० मिनेटमा २० सेकेन्डका लागि २० फिट टाढा हेर्नु । तपाईंले यो नियम लागु गर्न सक्नुहुन्छ । 

ब्राइटनेस मिलाउनु: वातावरण अनुसार ब्राइनेटसलाई कम वा बढी गर्दा पनि आँखामा समस्या आउन सक्छ । यसकारण तपाईंले उचित ब्राइटनेस राख्नु पर्ने हुन्छ । ताकि आँखालाई हानि नगरोस् । यसका लागि तपाईंले ब्राइटनेटसलाई मिलाउन अटो एडजस्टमेन्ट अन गर्न सक्नुहुन्छ ।     

फोनलाई ठिक्कको दुरीबाट हेर्नु: ब्राइटनेस जस्तै फोनलाई कम वा बढी दुरीबाट हेर्दा पनि आँखालाई भार पर्छ । जस्तो: धेरै नजिक अथवा धेरै टाढा फोनलाई हेर्न सकिँदैन । यसकारण फोन र तपाईंको आँखाको औसत दुरी १६-१८ इन्चको बनाउनुहोस्  ।

दुवै आँखा प्रयोग गर्नु: सेल फोन अन्धोपनको अर्को कारण एउटा आँखाले मात्र स्क्रिन हेर्नु हो । प्राय: ढल्केर अथवा अप्ठ्यारो मुद्रा बसेर चलाउँदा यसो गर्ने गरिन्छ । अलि चिम्म गरेर स्क्रिन हेर्ने पनि धेरै बानी हुन्छ । ती बानी सुधार गर्नुपर्छ । 

स्क्रिन समय सीमित गर्नु: सबैभन्दा राम्रो भनेको स्क्रिनमा बिताउने समय कम गर्नु हो । जति समय तपाईंले कम गर्नु भयो, उति यो समस्याबाट जोगिन सकिन्छ । विशेष गरी सुत्न जानु अघिको स्क्रिन टाइम कम गर्न जरुरी छ । 

नियमित आँखा जाँच गर्ने: यदि लामो समय स्क्रिनमा बिताएर नै काम गर्नुपर्ने छ भने नियमित रूपमा आँखा जँचाउनुहाेस् । यसले तपाईंलाई यो समस्याबाट मात्र नभइ आँखा सम्बन्धी अन्य रोगबाट पनि बचाउँछ ।

 

पछिल्लो अध्यावधिक: असार ४, २०८१ ९:१६