मेमोरी चिपको अभावकाबिच झन् महँगिने भए आईफोन लगायतका एप्पल डिभाइस, टिम कुकले दिए स्पष्ट सङ्केत
असार ७, २०८३ १०:१८
काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीका उत्पादनहरूको मूल्य वृद्धि 'अपरिहार्य' रहेको बताएका छन् । विश्वव्यापी रूपमा कम्प्युटर मेमोरी र स्टोरेज चिप्सको अभाव भइरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
द वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तर्वार्तामा कुकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूबाट मेमोरी चिप्सको अत्यधिक मागका कारण एप्पलले ठुलो सङ्कटको सामना गरिरहेको बताएका छन् । यस अवस्थालाई उनले 'सय वर्षमा आउने बाढी' सँग तुलना गरेका छन् ।
बुधबार प्रकाशित जर्नलको अन्तर्वार्तामा कुकले भनेका छन्, "मैले ४० वर्षभन्दा बढी समयमा कुनै पनि क्षेत्रमा यस्तो अवस्था देखेको छैन ।" एप्पलले यसै अङ्ग्रेजी वर्षको अन्त्यमा आफ्नो नयाँ आईफोन १८ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा कुकले मूल्य बढ्ने सङ्केत दिएका हुन् । यद्यपि, उनले मूल्य वृद्धि कहिलेदेखि लागु हुन्छ वा कुन-कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने कुरा खुलाउन भने अस्वीकार गरेका छन् ।
"दुर्भाग्यवश, मूल्य वृद्धि अपरिहार्य छ," कुकले जर्नललाई भनेका छन् । "हामीमाथि थोपरिएको ठुलो मूल्य वृद्धिको असरलाई कम गर्न हामी हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । हामीले हाम्रा ग्राहकहरूलाई यो वृद्धिबाट जोगाउने प्रयास गर्दै आएका थियौं । तर परिस्थिति अब धान्नै नसकिने (unsustainable) भएको छ ।"
आगामी १ सेप्टेम्बरमा सिलिकन भ्यालीको यो प्रतिष्ठित कम्पनीको सीईओ पदबाट राजीनामा दिन लागेका कुकले एआई सर्भरहरूको उच्च मागका कारण मेमोरी र स्टोरेज चिप्सको लागत अकासिएको बताए । यसले गर्दा एप्पललाई आफ्नो नाफा मार्जिन कायम राख्न ठुलो सङ्घर्ष गर्नुपरेको छ ।
कुकले उपकरणहरूको मूल्य कतिले बढ्छ भन्ने कुरा नखुलाए पनि, टेक अनुसन्धान कम्पनी टेकइनसाइट्सले छिट्टै सार्वजनिक हुन लागेको आईफोन प्रो १९ को लागत २०० डलर (३०,१२४ रुपैयाँ) भन्दा बढीले बढ्ने अनुमान गरेको छ । जर्नलका अनुसार मूल्य वृद्धिपछि यो डिभाइसको मूल्य करिब १,२९९ अमेरिकी डलर (१ लाख ९५,६५५ रुपैयाँ) पुग्नेछ ।
"ग्राहकहरूले उपकरणहरू खोजिरहेको समयमा आपूर्ति कम छ र मेमोरी उत्पादकहरूले ठुलो मूल्य वृद्धि गरिरहेका छन्," कुकले भने । "उपभोक्ता उत्पादनहरूका लागि मेमोरीको मूल्य र आपूर्ति उचित स्तरमा फर्किनु नितान्त आवश्यक छ । मुख्य कुरा यही हो ।"
मोर्गन स्ट्यान्लीका युरोप र एसिया टेक्नोलोजी प्रमुख शन किमले ८ जुनको 'थट्स अन द मार्केट' पोडकास्टमा बोल्दै पीसी र स्मार्टफोन निर्माताहरूले चिपफ्लेसन (chipflation) को मार खेपिरहेको बताएका थिए । 'चिपफ्लेसन' भन्नाले यस्तो अवस्थालाई बुझिन्छ, जहाँ मेमोरी चिप्स समयसँगै सस्तो हुनुको सट्टा झन् महँगो र पाउन गाह्रो हुन्छ ।
"पछिल्लो एक वर्षमा मेमोरीको मूल्य ६ गुणाभन्दा बढीले बढेको छ," मोर्गन स्ट्यान्लीको पोडकास्टमा किमले भनेका छन् । उनका अनुसार, एआई सर्भरहरूबाट मेमोरी चिप्सको उच्च मागले बजारलाई दुई तहमा विभाजन गरेको छ ।
"ठुला एआई र क्लाउड खरिदकर्ताहरूले दीर्घकालीन सम्झौता गर्न, अग्रिम भुक्तानी गर्न र प्राथमिकताका आधारमा चिप्स सुरक्षित गर्न सक्छन्," किमले भने । "पीसी निर्माता, स्मार्टफोन निर्माता र औद्योगिक हार्डवेयर कम्पनी लगायतका परम्परागत खरिदकर्ताहरूले भने बाँकी रहेको चिप्सका लागि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।"
सन् २०२७ मा पीसी निर्माताहरूले चिप्समा १५% को अभाव झेल्नुपर्ने अनुमान गरिएको छ । जुन करिब ५ करोड ८० लाख पीसी बराबर हो । त्यसैगरी, स्मार्टफोन निर्माताहरूले मेमोरी चिप्समा १२% को अभाव सामना गर्नुपर्ने किमले बताए । जुन करिब १३ करोड ४० लाख स्मार्टफोन युनिट बराबर हुन आउँछ ।
"यस्तो अवस्थामा कम्पनीहरूले मूल्य बढाउन, स्पेसिफिकेसन (विशेषताहरू) कटौती गर्न, उत्पादन सार्वजनिक गर्न ढिलाइ गर्न र कम नाफा स्वीकार गर्न बाध्य हुनुपर्नेछ," किमले थपे ।
एआई कम्पनीहरूको तीव्र मागका कारण यस वर्षको अन्त्यसम्ममा मेमोरी चिप बजार ८९० अर्ब अमेरिकी डलरको उद्योग बन्ने अपेक्षा गरिएको छ । सन् २०२५ मा यो बजार करिब २२० अर्ब डलरको मात्र थियो ।
"एआईले मेमोरीलाई डिजिटल अर्थतन्त्रको सबैभन्दा सस्तो हिस्साबाट यसको सबैभन्दा धेरै प्रतिस्पर्धा हुने स्रोतमध्ये एकमा परिणत गरेको छ," किमले निष्कर्ष निकाल्दै भने । "धेरैजसो मानिसहरूले वास्तै नगर्ने यी साना चिप्सले अब के निर्माण हुने वा के ढिलाइ हुने र हामी सबैले कति मूल्य चुकाउनुपर्ने भन्ने कुराको निर्णय गर्न सक्छन् ।"
विनिमय दरः १ अमेरिकी डलर = १५०.६२
पछिल्लो अध्यावधिक: असार ७, २०८३ १०:२५
