काठमाडौं । भारतबाट नेपाल आउने पर्यटकले फोनपे क्यूआरमार्फत चार महिनामा २५ करोड रुपैयाँ बढीको भुक्तानी गरेका छन् । फोनपेले मङ्गलबार एक सूचना राख्दै नेपालभर भारतीय नागरिकले यूपीआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस)को प्रयोगमार्फत गरेको भुक्तानी सार्वजनिक गरेको हो ।
गत २८ फेब्रुअरीदेखि सुरु भएको यो सेवा प्रयोग गरी नेपाल आउने भारतीय नागरिकले फोनपेमार्फत भुक्तानी गर्न सक्छन् । चार महिनाको अवधिमा ७७ जिल्लामा एक लाख पटक बढी कारोबार भएकाे फाेनपेले जनाएकाे छ ।
“नेपालमा यूपीआई भुक्तानीलाई ग्राहकहरूले यसरी छिट्टै अपनाउँदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरूलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुसी छौं ।”
फोनपे नेटवर्कमार्फत यूपीआई भुक्तानीको सजिलो, सुरक्षा र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । अहिले नेपालको ८० प्रतिशत क्यूआर कोड प्रणालीले फोनपेमार्फत यूपीआई भुक्तानी लिन सक्ने बताइएको छ ।
नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानीका लागि नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच चार महिनाअघि सेवा प्रारम्भ भएको थियो ।
यसअन्तर्गत भारतमा भिमयूपीआई र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा फाेनपे क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्ने गरेका छन् ।