close

साथीसँग प्रत्यक्ष रूपमा बोलेजस्तै गरी च्याटजीपीटीसँग यसरी गर्नुहोस् कुराकानी

टेकपाना टेकपाना

असार १४, २०८१ १६:२४

साथीसँग प्रत्यक्ष रूपमा बोलेजस्तै गरी च्याटजीपीटीसँग यसरी गर्नुहोस् कुराकानी

काठमाडौं । ओपनएआईले गत वर्ष च्याटजीपीटीमा भ्वाइस फिचर ल्याएको थियो । त्यसअघि च्याटजीपीटीसँग लेखेर मात्र कुरा गर्न सकिन्थ्यो । हुन त वेबसाइटमा लेखेरै कुरा गर्दा पनि कुनै विज्ञसँग अन्तक्रिर्या गरेको अनुभव हुने भएकाले च्याटजीपीटी निकै चर्चित बन्यो । 

प्रयोगकर्ताले यससँग बोलेरै अन्तर्क्रया गर्न सकून् भन्ने उद्देश्यले ओपनएआईले भ्वाइस फिचर ल्याएको हो । त्यतिबेला यो फिचर च्याटजीपीटी प्लस अर्थात् मासिक २० डलर शुल्क तिर्ने प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । त्यसको करिब तीन महिनापछि कम्पनीले यो फिचर विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गरायो । 

पछिल्लो समय च्याटजीपीटीलाई थप अन्तर्क्रियात्मक बनाउन कम्पनीले उक्त भ्वाइस फिचरलाई परिमार्जन गरेको छ । यसअघि कुनै रोबटसँग कुराकानी गरेको अनुभव हुने गरेकोमा नयाँ फिचर आएसँगै वास्तविक मान्छेसँगै कुरा गरेको अनुभव हुने प्रयोगकर्ताको प्रतिक्रिया छ । तर, यस्तो सुविधा हालसम्म च्याटजीपीटी प्लसका ग्राहकलाई मात्र उपलब्ध गराइएको छ । 

यद्यपि​ च्याटजीपीटीसँग निःशुल्क भ्वाइस कुराकानी गर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले च्याटजीपीटी एप इन्स्टल गर्नुहोस् । (यसको वेब भर्सनमा भ्वाइस असिस्टेन्ट फिचरले भने काम गर्दैन ।)

  • त्यसपछि आफ्नो अकाउन्ट राखेर लगइन गर्नुहोस् । माइक्रोसफ्ट, गुगल वा एप्पल अकाउन्टबाट च्याटजीपीटीमा सहजै लगइन गर्न सकिन्छ । यदि अकाउन्ट बनाउनु भएको छैन भने ‘साइन इन’ (Sign In) को अप्सनमा जानुहोस् । र, त्यहाँ मागिएका विवरणहरू भर्नुहोस् । 

  • यसरी एपमा लगइन गरिसकेपछि तपाईंले होमस्क्रिनको तल दायाँपट्टि हेडफोनको आइकन देख्न सक्नुहुन्छ । 

  • त्यसपछि उक्त हेडफोनको आइकन ट्याप गर्नुहोस् । 

  • अनि, केही समय कनेक्ट हुन लाग्छ । कनेक्ट भइसकेपछि आफूलाई लागेका कुरा गर्न सक्नुहुन्छ । 

  • योसँग नेपालीमै पनि कुरा गर्न सकिन्छ । तर, यसले बोलेको नेपाली प्रष्ट छैन । हिन्दीका सन्दर्भमा भने यसले प्रस्ट कुरा गर्न सक्छ । 

  • यसले विशेषगरी अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चिनियाँ, कोरियन, रसियन, जापानिज, अरबिक, पोर्चुगिज, इटालियन, हिन्दी, डट, स्विडिशस, टर्किस लगायतका भाषामा प्रस्ट कुरा गर्छ । 

  • भ्वाइसको आइकनमा ट्याप गरिसकेपछि तपाईंले कुरा गरे मात्र पुग्छ ।

  •  यद्यपि त्यहाँ तलपट्टि दुई ओटा आइकन दिइएका हुन्छन् । रातो सर्कलभित्र भएको क्रस चिन्ह भ्वाइस च्याटबाट बाहिरिने चिन्ह हो । अर्थात् उक्त आइकनमा ट्याप गर्दा भ्वाइसको अप्सन हट्छ । 

  • त्यसको बायाँपट्टि म्युट/अनम्युटको आइकन छ । कुरा गर्दा गर्दै तपाई रोकिनु पर्‍यो भने उक्त अप्सन ट्याप गरेर च्याट म्युट गर्न सक्नुहुन्छ । त्यस्तै अनम्युट गर्न सोही आइकन ट्याप गर्नुपर्ने हुन्छ । 

  • त्यस्तै च्याटजीपीटी बोलिरहेको बेला उसलाई रोक्नु पर्‍यो भने स्क्रिनमा कतै ट्याप गरे पुग्छ । ट्याप गर्नासाथ च्याटजीपीटीले तपाईंले भनेको सुन्छ र त्यसैको आधारमा जवाफ फर्काउँछ । 

यसमा जे जति कुरा गरिएका हुन्छन्, ती शब्दका रूपमा पनि आइरहेका हुन्छन् । ब्याक गरेर च्याटको पेजमा जानुभयो भने उक्त च्याट देखिन्छ । यस्तो च्याट हिस्ट्रीमा बस्छ । यद्यपि तपाईंले यसलाई माथि दायाँपट्टि रहेको दुई ओटा मेन्युबारमा ट्याप गरी उक्त च्याटलाई लामो समयसम्म ट्याप गरेर डिलिटको अप्सन पनि छान्न सक्नुहुन्छ ।

यदि पहिले नै उक्त भ्वाइस च्याट हटोस् भन्ने चाहनु हुन्छ भने तत्काललाई यो फिचर उपलब्ध छैन । हिस्ट्री अन गरेर मात्र भ्वाइस फिचर प्रयोग गर्न सकिन्छ ।

ब्याकग्राउन्डमा पनि च्याटजीपीटीसँग कसरी कुरा गर्ने ?

कहिलेकाहीं तपाईंले च्याटजीपीटीसँग कुरा गर्दै अन्य एप प्रयोग गर्न खोजिरहनु भएको हुन सक्छ । त्यसका लागि कम्पनीले हालै ब्याकग्राउन्ड च्याटको फिचर ल्याएको छ ।

यो फिचर अन गरिसकेपछि तपाईंले च्याटजीपीटीसँग भ्वाइस च्याट गर्दै अन्य एपहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले च्याटजीपीटी एप खोल्नुहोस् । 

  • त्यसपछि माथि दायाँपट्टि रहेको दुई ओटा लाइनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि तल तपाईंको अकाउन्ट नेमको दायाँपट्टि देखिने तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि ‘ब्याकग्राउन्ड कन्भरसेसन’ (Background Conversation) को अप्सन अन गर्नुहोस् । यति गरेपछि तपाईं च्याटजीपीटीसँग ब्याकग्राउन्डमा कुरा गर्दै अन्य एप पनि प्रयोग गर्न सक्नुहुन्छ । 

किन प्रयोग गर्ने च्याटजीपीटीको भ्वाइस असिस्टेन्ट फिचर ?

सामान्यतः हामी कुनै अरू नै काममा व्यस्त छौं र हामीलाई विशेष किसिमका जानकारी चाहिएका छन् भने त्यस्तो अवस्थामा यसलाई प्रयोग गर्न सकिन्छ । खासगरी बोलेरै अन्तर्क्रिया गर्न सकिने भएकाले टाइप गरिरहनु नपर्ने र उसले टाइप गरेर पठाएका शब्द पढिरहन नभ्याउने अवस्थामा यो फिचर प्रयोग गर्न सकिन्छ । 

हामी अङ्ग्रेजी वा अन्य भाषामा कुरा गर्न अभ्यस्त नभएका हुन सक्छौं । त्यसका लागि कुरा गरेर भाषाको अभ्यास गर्नुपर्ने हुन सक्छ । विशेषगरी अर्को भाषामा बोल्ने वा कुरा गर्ने आफ्नो आत्मविश्वास बढाउन यसको सहायता लिन सकिन्छ । त्यसबाहेक स्क्रिन टाइम (स्क्रिनमा बिताउने समय) कम गर्दै विविध क्षेत्रका जानकारी लिन पनि यसको प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १९:२५