close

गुगलले सबै प्रयोगकर्ताका लागि निःशुल्क गर्‍यो डार्क वेब मनिटरिङ

टेकपाना टेकपाना

असार २८, २०८१ ११:२६

गुगलले सबै प्रयोगकर्ताका लागि निःशुल्क गर्‍यो डार्क वेब मनिटरिङ

 

काठमाडौं । यही अङ्ग्रेजी महिनादेखि गुगलको डार्क वेब मनिटरिङ सेवा सबैका लागि निःशुल्क हुने भएको छ । प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत जानकारी वेबमा लिक भएको पत्ता लगाउन र सर्च रिजल्टबाट हटाउन प्रयोग हुने स्वचालित टुल कम्पनीले निःशुल्क बनाउन थालेको हो ।

प्रविधिको दिग्गज कम्पनी गुगलको डार्क वेब ट्रयाकिङ टुल यसअघि केवल गुगल वन अकाउन्ट भएका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो । गुगल वन प्रयोगकर्ताले विकसित एआई प्रविधिका साथै थप ईमेल तथा डकुमेन्ट स्टोरेज जस्ता अतिरिक्त फिचरको सब्सक्रिप्सनका लागि मासिक २० अमेरिकी डलरसम्म तिर्दै आएका छन् ।

छोटकरीमा भन्नुपर्दा प्रयोगकर्ता तथा सेवा प्रदायकको पहिचान अज्ञात हुने टोर वेब सर्भिस जस्ता विशेष खाले सफ्टवेयर प्रयोग गरी पहुँच बनाउन सकिने सेबसाइटहरूको नेटवर्क नै डार्क वेब हो । प्रायः अपराधिहरूले साइबर आक्रमणबाट चोरेका डेटा जस्ता अवैध सामग्रीको खरिद बिक्रीका लागि यस खाले सेवा प्रयोग गर्छन् ।

पछिल्ला वर्षहरूमा थुप्रै ह्याकिङका घटना हुँदै आएका छन् । जसबाट तपाईं हाम्रा व्यक्तिगत जानकारी थुप्रै पल्ट चोरी भएर बिक्री भएको हुन सक्ने सम्भावना उच्च छ । अझै पनि गलत व्यक्तिको हातमा रहेका महत्त्वपूर्ण पासवर्ड, सामाजिक सुरक्षा नम्बर अथवा तपाईंका परिवारका सदस्यहरूको नाम सहितको लिस्ट विभिन्न खाले ठगी कार्यमा प्रयोग हुन सक्छ ।

जसमा बैंक अकाउन्ट हातमा लिनेदेखि व्यवसाय सम्बन्धी गोप्य जानकारी हासिल गर्न कार्यालयसँग सम्बन्धित ईमेलमा पहुँच बनाउने सम्मका गतिविधि हुन सक्छन् । ह्याकरहरूले कहिलेकाहिं यस्ता सूचना बैंक अकाउन्ट खोल्न र अन्य व्यक्तिको नाममा ऋण निकाल्न समेत प्रयोग गरिदिन्छन् ।

यसबाट ऋणको पैसा आफूले कुम्ल्याउने र त्यसको बिल तथा दायित्व पीडितलाई बोकाउने गरिदिन्छन् । गुगलको निःशुल्क डार्क वेब रिपोर्टिङ टुल प्रयोग गर्न तपाईं गुगलको रिजल्ट अबाउट यु पेजमा जानु पर्ने हुन्छ ।

त्यहाँ रहेको गेट स्टार्टेड बटनमा क्लिक गरेपछि गुगलले तपाईंको नाम, ठेगाना, ईमेल, फोन नम्बरसहित तपाईंले ट्रयाक गर्न चाहेका अन्य सूचना माग्छ । गुगलको भनाई छ कि उसले यसरी मागेका सूचना अरू कसैसँग शेयर नगर्ने र आफ्नै अन्य उत्पादनमा समेत प्रयोग गर्ने छैन ।

रिजल्ट अबाउट यु पेजमा रहेको सेटिङमा क्लिक गरेर तपाईंले गुगलको सिस्टमबाट आफ्नो सूचना हटाउन सक्नु हुन्छ । यसका लागि त्यहाँ गएर स्क्रिनको तल रहेको ट्रयाशक्यान आइकन अथवा रिमुभ अल कन्ट्याक्ट इन्फो बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

गुगलको निःशुल्क डार्क वेब मनिटरिङ टुल प्रविधि कम्पनीहरूले उपभोक्तालाई कसरी मद्दत गरिरहेका छन् र इन्टरनेट जीवनमा नियमित जसो भइरहने डेटा लिक र ह्याकिङ आक्रमणसँग जुध्न सघाइरहेका छन् भन्ने कुराको एउटा अर्को उदाहरण हो । गुगलको डार्क वेब ट्रयाकिङ टुलको अर्को लोकप्रिय विकल्प पनि छ, त्यो हो निःशुल्क रूपमा उपलब्ध ह्याभ आई बिन प्युड, जसले ह्याकरले डार्कवेबमा बिक्री गरिरहेका ईमेल एड्रेस, पासवर्ड र फोन नम्बर ट्रयाक गर्न सघाउँछ ।

त्यस्तै अर्को हो, क्रेडिट कर्मा, जसले परिचय ट्रयाकिङको बदलामा एफिलिएट विज्ञापन देखाउँछ । गुगलको निःशुल्क टुल भने एक कदम अगाडि गएको छ, किन भने रिजल्ट अबाउट यु पेजमा गएर अनुरोध गर्दा गुगलले त्यस्ता जानकारी सर्च रिजल्टबाट समेत हटाइ दिन्छ । 

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १३:५५