काठमाडौं । युट्युबले छोटो भिडिओ सेक्सन शर्टका लागि केही नयाँ फिचरहरू घोषणा गरेको छ । सुरुवाती चरणमा कम्पनीले टेक्स्ट टु स्पिचको सुविधा थप गरेको छ । यो फिचर प्रयोग गरी शब्दलाई एआईको आवाजमा रूपान्तरण गर्न सकिन्छ । र, त्यही आवाज न्यारेसनको रूपमा प्रयोग गर्न सकिन्छ ।
टिकटकमा यो फिचर निकै रुचाइएको छ । खासगरी टेक्ट टाइप वा पेस्ट गरिसकेपछि ‘एड भ्वाइस’को अप्सन छनौट गर्दा सहजै एआईको आवाज आउँछ ।
युट्युबमा भने यसका लागि सबैभन्दा पहिला शर्ट्समा भिडिओ रेकर्ड गर्ने वा ग्यालरीमा भएको भिडिओ अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि तल दायाँपट्टि ‘टिक मार्क’ देखिन्छ । सोही मार्कमा ट्याप गरिसकेपछि दायाँतर्फको भागमा देखिने मध्ये सुरुमा रहेको टेस्क्ट अप्सन छान्नुहोस् ।
टेक्स्टमा आफूले चाहेको शब्द लेख्नुहोस् र माथि बायाँपट्टि टेक्ट टु स्पिचको आइकन देखिन्छ । सोही आइकनमा थिच्नु भयो भने तल विभिन्न आवाजको नमुना देख्न सक्नु हुनेछ । त्यसबाट आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् ।
टाइमलाइनको अप्सनमा गई आवाज र अक्षर आफूले चाहेको ठाउँमा सेट गर्नुहोस् । अब, नेक्स्टमा ट्याप गरेर उक्त भिडिओ अपलोड गर्न सक्नु हुन्छ ।
त्यस बाहेक युट्युबले स्वतः सिर्जना हुने क्याप्सनको फिचर पनि ल्याउन लागेको छ । यो फिचर टिकटककै मातृ कम्पनीको स्वामित्वमा रहेको क्यापकटमा उपलब्ध छ । यसबाट प्रयोगकर्ताले चाहे अनुसारको क्याप्सन स्टाइल छानेर शर्ट्समा प्रयोग गर्न सक्नेछन् ।
युट्युब शर्ट्स टोलीका अनुसार हाल शर्ट्स प्लेटफर्ममा दैनिक ७० अर्ब भ्युज आउने गरेको छ । कूल क्रियटरमध्ये २५ प्रतिशत क्रियटरले शर्ट्सबाट राम्रो आम्दानी गर्दै आएको कम्पनीले जनाएको छ ।