काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि स्नातक तह अन्तर्गत सूचना प्रविधि (आईटी) कार्यक्रममा भर्ना खुलाएको छ । विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले आइतबार एक सूचना निकाल्दै भर्ना खुलेको जानकारी दिएको हो ।
यसअन्तर्गत विश्वविद्यालयले ब्याचलर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (बी टेक इन सीएस एन्ड एआई) र ब्याचलर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी (बी टेक इन आईटी)मा भर्ना खुला गरेको छ ।
बी टेक इन सीएस एन्ड एआई विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम् ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ । बी टेक इन आईटीमा भर्ना हुन भने कक्षा ११/१२ मा जुनै विषय लिए पनि न्यूनतम् ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।
भर्ना हुनुअघि विद्यार्थीले विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । यसमा १२ कक्षाको नतिजा कुरिरहेका विद्यार्थीले समेत आवेदन दिन सक्नेछन् । तर, भर्ना हुनुअघि उनीहरूले पर्याप्त अङ्क सहित परीक्षामा उत्तीर्ण भने हुनु पर्छ ।
विश्वविद्यालयका अनुसार प्रवेश परीक्षामा टपर हुने विद्यार्थीले पहिलो सेमेस्टर नि:शुल्क अध्ययन गर्न पाउनेछ । यसका साथै उत्कृष्ट १२ विद्यार्थीले शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
इच्छुक विद्यार्थीले १ साउनदेखि १८ साउनसम्म नियमित र १९ साउनदेखि २५ साउनसम्म दोब्बर दस्तुरमा फाराम भर्न सक्नेछन् ।
कोर्सबारे
बी टेक इन सीएस एन्ड एआई
यो कोर्स चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्समा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ । प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न कोर्समा सैद्धान्तिक सँगै प्रयोगात्मक विषय राखिएको छ ।
४८ विद्यार्थी कोटा भएको यो कोर्स नियमित शुल्कमा पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ । कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
बी टेक इन आईटी
यो कोर्स अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिइने छ । प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई मिसाएर आईटी क्षेत्रका लागि विभिन्न जनशक्ति तयार पार्नु कोर्सको उद्देश्य रहेको छ ।
यो कोर्स नियमित शुल्कमा पढ्न एक लाख १७ हजार र पूर्ण शुल्कमा पढ्न चार लाख ६२ हजार रुपैयाँ लाग्छ । यसको पनि विद्यार्थी कोटा ४८ नै रहेको छ । कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
विश्वविद्यालयको भर्ना तथा प्रवेश परीक्षामा आवेदन दिन यहाँ क्लिक गर्नहोस् ।