close

विद्यालयहरूलाई ७ साउनभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण राख्न अनुरोध

टेकपाना टेकपाना

साउन २, २०८१ ११:५१

विद्यालयहरूलाई ७ साउनभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण राख्न अनुरोध

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ को विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा अद्यावधिक गर्न अनुरोध गरेको छ । केन्द्रले जारी गरेको सूचनामा ७ साउनभित्र सबै विद्यालयहरूले विवरण अद्यावधिक गर्नुपर्ने बताइएको छ ।

अद्यावधिक नगर्ने विद्यालयहरूको सूची आईईएमआईएसबाट हटाउने चेतावनी पनि दिइएको छ।

हालसम्म विवरण अद्यावधिक नगर्ने, अद्यावधिक गरे पनि पूर्ण विवरण अद्यावधिक नगर्ने र आईईएमआईएस कोड लिएर अद्यावधिक गर्न छुट भएका विद्यालयहरूलाई अद्यावधिक गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ ।

एक विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण भएका विद्यार्थीहरूको विवरण २०८१ असार मसान्तभित्र अद्यावधिक नगरे स्थानीय तहले कारबाही गरी विवरण अद्यावधिक गरिदिने सूचनामा उल्लेख छ ।

वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका, बीचमा विद्यालय छोडी भर्ना हुन आएका, विगत वर्षमा आईईएमआईएसमा विवरण अभिलेख नभएका, खुला र अनौपचारिक प्रौढ विद्यालयमा भर्ना हुन आएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका, अर्का विद्यालयबाट १ कक्षाभन्दा माथिल्लो कक्षामा भर्ना हुन आएका विद्यार्थीहरूको विवरण विद्यालयबाट लिई आईईएमआईएसको स्टुडेन्ट रेकर्ड बटन (स्टुडेन्ट इन्फर्मेसन) मा रहेको ‘एड’ मा गई सम्बन्धित कक्षामा विद्यार्थी ‘एड’ गर्ने कार्यमा सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

त्यस्तै कक्षा ८ को नतिजा अनिवार्य रूपमा आईईएमआईएसमा प्रविष्टि गर्नुपर्नेछ तथा शिक्षक, कर्मचारी र भौतिक पक्ष सम्बन्धी सबै विवरणहरू अद्यावधिक गर्नुपर्ने पनि सूचनामा उल्लेख छ । 

यदि विवरण अद्यावधिक गर्दा कुनै समस्या आए स्थानीय तहले केन्द्रले सुझाएको निर्देशन अनुसार कार्य गर्नुपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८१ १४:५८