close

साउन १ देखि त्रिविका यी सङ्कायको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै

टेकपाना टेकपाना

असार १, २०८३ २१:२४

साउन १ देखि त्रिविका यी सङ्कायको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्ट अनलाइन माध्यमबाट मात्र उपलब्ध गराउने भएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै १ साउन २०८३ देखि चार वर्षे स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमका ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइनबाट मात्र आवेदन लिन सुरु गर्ने जानकारी दिएको हो । 

१ साउनदेखि ती सङ्कायका विद्यार्थीले भौतिक रूपमा उपस्थित भई बुझाउने आवेदन सङ्कलन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइट www.exam.tu.edu.np को स्टुडेन्ट पोर्टलबाट विद्यार्थीले आवेदन दिन सक्नेछन् । अनलाइन आवेदन प्रक्रियामा कुनै समस्या आएमा विद्यार्थीलाई सहयोग गर्न कार्यालयमा छुट्टै हेल्प डेस्क खडा गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । 

अनलाइन आवेदन दिएर भुक्तानी प्रक्रिया पूरा गरेपछि दुईदेखि तीन हप्तामा विद्यार्थीले कार्यालयमा गएर ट्रान्सकिप्ट र प्रोभिजनल सर्टिफिकेट लिनसक्ने छन् । 

यसरी दिनुहोस् अनलाइनबाट ट्रान्सकिप्टको लागि आवेदन 

१. सबैभन्दा पहिला www.exam.tu.edu.np मा जानुहोस् । 

२ त्यहाँ रहेको ‘Student Portal Menu’ मा ‘Click’ गर्नुहोस् । सिधै https://student.exam.tu.edu.np/login मा समेत जान सकिन्छ । 

३. त्यसपछि ‘other service’ मा ‘Click’ गर्नुहोस् । 

४. नयाँ प्रयोगकर्ता भए ‘Please sign up here’ मा ‘click’ गरी आवश्यक विवरणहरू भर्नुपर्ने हुन्छ । यसरी आवश्यक विवरण भर्दा त्रिवि रजिस्ट्रेसन नम्बर लगायतका जानकारी सावधानीपूर्वक भर्नुपर्ने हुन्छ । 

५. साइन अप सम्पन्न भएपछि आफ्नो ईमेल ठेगानालाई युजर आईडीको रूपमा प्रयोग गर्नुपर्छ । 

६. अब युजरआईडी र पासवर्ड राखेर लग इन गर्नुहोस् । सुरुमा लगइन गर्दा पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ । 

७. लगइन पछि ‘Student Menu’ देखा पर्छ । त्यहाँ रहेको ‘Transcript Povision Menu’ मा ‘Click’ गर्नुहोस् । 

८. त्यहाँ ट्रान्सक्रिप सम्बन्धी सम्पूर्ण विवरणहरू शैक्षिक कार्यक्रम, सिम्बोल नम्बर, वर्ष, साल, खण्ड लगायत विवरणहरू भर्नुहोस् । 

९. सबै विवरण भरेपछि ‘Online Payment’ प्रणालीमार्फत निर्धारित शुल्क भुक्तानी गर्ने ।

१०. भुक्तानी सम्पन्न भएपछि एप्लिकेसन फाइलको पीडीएफ डाउनलोड गरेर राख्नुहोस् । थप जानकारीका लागि अनलाइन फारमसँग सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको ट्रान्सकिप्ट म्यानुअल यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

 

 

पछिल्लो अध्यावधिक: असार १, २०८३ २२:१३