बीटेकका चार विषयमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन
असार ३, २०८३ १८:४८
काठमाडौँ । लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान (आईओई एन्ड आईटी) ले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहमा भर्ना खुला गरेको छ । विश्वविद्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्रविधि सम्बन्धी विभिन्न चार कार्यक्रमको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
विश्वविद्यालयले यस शैक्षिक सत्रमा बीटेक इन सिभिल इन्जिनियरिङ, बीटेक इन आईटी इन्जिनियरिङ, बीटेक इन कम्प्युटर साइन्स एन्ड एआई र बीटेक इन आईटी गरी चार विषयमा भर्ना खुलाएको छ । यी प्रत्येक कार्यक्रममा ४८/४८ जनाका दरले कुल १९२ जना विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका अनुसार कक्षा १२, इन्जिनियरिङ डिप्लोमा वा सो सरहको परीक्षामा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई उत्तीर्ण भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
यसका लागि कुल प्राप्ताङ्कको न्यूनतम ४५ प्रतिशत अङ्क वा प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । यस्तै, 'ए लेभल' अध्ययन गरेका विद्यार्थीहरूको हकमा न्यूनतम ‘डी’ ग्रेड वा ४५ प्रतिशत अङ्क अनिवार्य गरिएको छ ।
कक्षा १२ को अन्तिम नतिजाको पर्खाइमा रहेका विद्यार्थीले पनि प्रवेश परीक्षाका लागि आवेदन दिन पाउनेछन् । यद्यपि, भर्ना हुने समयमा उत्तीर्ण भएको मार्कशिट अनिवार्य रूपमा पेस गर्नुपर्ने सर्त सूचनामा उल्लेख छ ।
नियमित शुल्कमा आवेदन दिने म्याद २०८३ असार २ गतेदेखि २०८३ साउन २ गतेसम्म तोकिएको छ । यस्तै, विलम्ब शुल्क तिरेर साउन ३ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
शुल्कको हकमा नियमिततर्फ आईटी कार्यक्रमका लागि १५ सय रुपैयाँ र इन्जिनियरिङ कार्यक्रमका लागि दुई हजार रुपैयाँ तोकिएको छ । विलम्ब शुल्कको समयमा आवेदन दिँदा आईटीका लागि २५ सय रुपैयाँ र इन्जिनियरिङका लागि तीन हजार रुपैयाँ लाग्नेछ । यदि कुनै विद्यार्थीले एकभन्दा बढी कार्यक्रममा आवेदन दिन चाहेमा प्रत्येक थप कार्यक्रमका लागि ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक अनलाइन पोर्टल entrance.ltu.edu.np मार्फत फाराम भर्न सक्नेछन् । प्रवेश परीक्षा सञ्चालन हुने मिति र समयका बारेमा विश्वविद्यालयले पछि अर्को सूचनामार्फत जानकारी गराउने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ १८:४८
