close

विन्डोज डाउन भएपछि एलन मस्कको व्यङ्ग्य: माइक्रोसफ्ट सफ्ट नभई हार्ड भयो

टेकपाना टेकपाना

साउन ४, २०८१ २२:५०

विन्डोज डाउन भएपछि एलन मस्कको व्यङ्ग्य: माइक्रोसफ्ट सफ्ट नभई हार्ड भयो

काठमाडौं । शुक्रबार विश्वव्यापी रूपमा माइक्रोसफ्टका इन्टरप्राइज ग्राहकले समस्या भोग्नुपर्‍यो । उनीहरूले प्रयोग गर्ने क्राउडस्ट्राइकको फाल्कन एन्टिभाइरस अपडेट गर्दा कम्प्युटर अफ भएर खुल्दा नीलो स्क्रिन देखिने समस्या आयो । 

यसलाई अर्बपति उद्यमी एवं सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले भने ट्रोलको विषय बनाएका छन् । उनले छ घण्टाअघि डज डिजाइनर नामक अकाउन्टबाट पोस्ट भएको मिम कोट रिपोस्ट गरेका छन् । सो मिममा एक्स प्रयोगकर्ताले विन्डोजका ग्राहकले सामना गरेको समस्या बसेर हेरिरहेको देखाइएको छ । मस्कले उक्त पोस्टमा हाँसोको ईमोजी राख्दै उक्त व्यङ्ग्यलाई समर्थन गरेका छन् । 

त्यसको केही समयपछि २०२१ को आफ्नै पोस्टल‌ाई उनले पुनः शेयर गरेका छन् । सो पोस्टमा माइक्रोसफ्टभन्दा म्याक्रोहार्ड उत्कृष्ट भएको बताइएको छ । माइक्रोको विपरीत म्याक्रो र सफ्टको विपरीत हार्डलाई मस्कले व्यङ्ग्य गर्दै ‘म्याक्रोहार्ड’ भनेका हुन् । अर्थात् माइक्रोसफ्ट बेलाबेलामा हार्ड (जटिल) हुने उनको आशय थियो । त्यही पोस्टलाई उनले बुस्ट हानेका छन् । 

क्राउडस्ट्राइकको फाल्कन अपडेटमा समस्या आउँदा माइक्रोसफ्टकै सेवा पनि प्रभावित भएका छन् । खासगरी कम्प्युटर नै नखुल्दा माइक्रोसफ्ट ३६५ भित्रका एप प्रयोग गर्न प्रयोगकर्तालाई सकस भएको हो । कम्पनीले यो समस्या समाधान गरिसकेको बताएको छ ।

तर, अपडेटका कारण यस्तो समस्या निम्तिएकाले म्यानुअल्ली उक्त अपडेट डिलिट गर्न साइबर सुरक्षा विज्ञहरूले सुझाव दिएका छन् । 

  • त्यसका लागि कम्प्युटर स्टार्ट भएर विन्डोजको लोगो देखिनुअघि Shift+ F8 बटन थिच्नुहोस् ।

  • त्यसपछि एड्भान्स बुट अप्सनबाट ‘सेफ मोड’ छान्नुहोस् । 

  • यति गरिसकेपछि Windows+E थिचेर फाइल एक्सप्लोररमा जानुहोस् । 

  • अनि C:\Windows\System32\drivers\Crowdstrike डाइरेक्टरीमा जानुहोस् । 

  • र, ‘C-000000291*.sys” फाइल खोज्नुहोस् र डिलिट गर्नुहोस् । 

  • त्यसपछि कम्प्युटर राम्रोसँग बुस्ट गर्नुहोस् । यति गरेपछि समस्या समाधान हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ २२:५०