काठमाडौं । अन्य व्यक्तिको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दोलखा जिल्ला घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय ध्रुव कृष्ण शर्मालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शर्माले धनुषाका सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरी ३ अप्रिल २०२२ मा बैंक खाता खोलेका थिए । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमीबाट खोलेको उक्त खातामा उनले आफ्नै फोटो र मोबाइल नम्बर राखेका थिए । त्यस्तै उक्त खाताबाट चेकबुक समेत निकालेका थिए ।
सोही चेकबुकको दुरुपयोग गरेको भनेर बैंकले प्रहरीलाई उजुरी दिएको थियो । यसपछि खटिएको प्रहरी टोलीले ३ साउनमा शर्मालाई चाबहिलबाट पक्राउ गरेको हो ।
अहिले उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।