पुरातात्त्विक सम्पदा संरक्षणका लागि केयूका विद्यार्थीले ल्याए ‘हाम्रो सम्पदा’ डिजिटल प्लेटफर्म
असार १०, २०८३ १३:१७
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरूले पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूको संरक्षणका लागि डिजिटल प्रणालीको विकास गरेका छन् ।
केयूको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागमा प्राध्यापक डा. रवीन्द्र बिष्टको मेन्टरिङमा सञ्जय पहारी, उत्कृष्ट मणि न्यौपाने र बिपुल लम्सालको टोलीले ‘हाम्रो सम्पदा’ नामक प्रविधि तयार पारेका हुन् । यो प्रणालीले तस्बिरका माध्यमबाट थ्रीडी मोडेल तयार पारेर सम्पदाको वास्तविक स्वरूपलाई आर्काभइ (अभिलेख) गर्ने उनीहरूले जानकारी गराएका छन् ।
तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ कात्तिकमा विश्वविद्यालय स्तरीय स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सामग्री निर्माण प्रतिस्पर्धाका लागि आवेदन खुलाएको थियो । सोही प्रतिस्पर्धाका क्रममा विद्यार्थीहरूले ‘हाम्रो सम्पदा’ नामको प्लेटफर्म तयार पारेका हुन् ।
प्रतिस्पर्धाका लागि तोकिएका विभिन्न विधा मध्ये ‘सम्पदा संरक्षण’ लाई रोजेर यस क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ उनीहरूले काम अघि बढाएको टेकपानासँग बताए । यस परियोजनाका लागि मन्त्रालयलाई प्रस्तावना बुझाउने क्रममा विगतका वर्षमा स्टिम परियोजना अन्तर्गत मोबाइलमा हेर्न सकिने सामान्य एआर (अग्मेन्टेट रियालिटी) मात्र बनाइएको पाइएको थियो । तर, पुरातात्त्विक सम्पदालाई नै पूर्ण रूपमा थ्रीडी मोडेलमा रूपान्तरण गर्ने काम नभएको पाइएपछि सो परियोजनामा काम अघि बढाएको विद्यार्थीहरूले सुनाए ।
सांस्कृतिक सम्पदालाई थ्रीडीमा रूपान्तरण गर्नका लागि विद्यार्थीहरूले ‘थ्रीडी गसियन स्प्लटिङ’ नामको प्रविधि प्रयोग गरेका छन् । यो प्रविधिबारे बुझाउँदै टोलीका सदस्य उत्कृष्ट न्यौपानेले भने, “यस प्रविधिमा सामान्य टुडी तस्बिरलाई थ्रीडीमा रूपान्तरण गरिन्छ । यो वास्तविक तस्बिर जस्तो देखिन्छ ।”
उनीहरूले यो प्रविधिको बारेमा पहिले नै स्व:अध्ययन गरेका थिए । त्यसैले पनि परियोजनामा यो प्रविधि प्रयोग गर्न सहज भएको बताउँछन् ।
यसरी बनाइयो थ्रीडी मोडेल
काभ्रेपलाञ्चोक स्थित विश्वविद्यालय क्याम्पसमा अध्ययनरत भएका कारण प्रयोगात्मक कार्यका लागि काभ्रेकै दुई वटा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदालाई विद्यार्थीहरूले छनोट गरेका थिए । जसमा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा रहेको शिव मन्दिर र पनौतीको दरबार क्षेत्रको मन्दिर समावेश गरिएका छन् ।

यी मन्दिरहरूमै पुगेर प्रत्यक्ष रूपमा डेटा सङ्कलन गरिएको न्यौपानेले बताए । यसका लागि उनीहरूले मन्दिरको सम्पूर्ण कोणबाट तस्बिरहरू खिच्ने काम गरे । फोर के रिजोलुसन भएका तस्बिरहरू प्रयोग गरेमा थ्रीडी मोडेल थप स्पष्ट हुने उनले बताए । यसरी सङ्कलन गरिएको डेटालाई प्रोसेस गर्न र मोडेललाई सटिक रूपमा ट्रेन गर्नका लागि सामान्य कम्प्युटरले नधान्ने भएपछि उनीहरूले जीपीयूमा आधारित कम्प्युटरहरू भाडामा लिएर प्रयोग गरेका थिए ।
यस प्रक्रियाबाट मन्दिरहरूको बाहिरी बनावट स्पष्ट रूपमा देख्न सकिने गरी थ्रीडी आकार तयार पारिएको छ । तर, यो मोडेललाई अझ बढी सटिक सबल बनाउनका लागि ‘नन् साइज पेपर’ र मार्करहरू मन्दिरको भौतिक संरचनामा राखेर डेटा सङ्कलन गर्न सकिन्छ । न्यौपानेले भने, “पुराना सम्पदाहरूमा यस्ता सामग्री प्रयोग गर्न अनुमति लिन गाह्रो भएकाले यो विधि पूर्ण रूपमा प्रयोग गर्न सकिएन । तर म्यानुअल तरिकाको तुलनामा यो प्रविधि धेरै सस्तो र प्रभावकारी बनेको छ ।”
ड्रोनको प्रयोग गर्न नपाउँदा मन्दिरको माथिल्लो भाग र गजुरको थ्रीडी मोडेलमा केही प्राविधिक समस्या देखिएको उनीहरूको अनुभव छ । ड्रोन नहुँदा गजुरको भाग केही धमिलो देखिएको स्वीकार गर्दै उनले भने, “समय कम भएकाले हामीले ड्रोन उडाउने अनुमति प्रशासनसँग लिन भ्याएनौँ । ”तलबाट नै फोटो खिच्दा क्यामेराले माथिल्लो भागको ओभरल्यापिङ पोइन्ट राम्रोसँग नभेट्टाउने हुँदा ब्लर हुन्छ । ड्रोनबाटै मन्दिरलाई वरिपरि घुमाएर अर्बिट डेटा लिएमा यसको समाधान हुन्छ ।”
हाल तयार पारिएको यो मोडेलमा मन्दिरको बाहिरी आवरण मात्र स्पष्ट रूपमा हेर्न सकिन्छ । कुनै पनि सम्पदाको भित्री भागको पनि पर्याप्त तस्बिरहरू खिच्न सकिएमा बाहिरबाटै मन्दिर भित्र छिर्न मिल्ने किसिमको थ्रीडी संरचना तयार पार्न सकिने सम्भावना उनीहरूले देखेका छन् । तर, मन्दिरको भित्री भागमा प्रकाशको कमी हुन सक्ने भएकाले ‘लाइटिङ’ मुख्य चुनौती हुन सक्ने उनीहरूको विश्लेषण छ ।
स्टिम प्रोजेक्टका लागि हालसम्म दुई वटा मन्दिरबाट मात्र तथ्याङ्क लिएर थ्रीडी मोडेल तयार पारिएको भए पनि भविष्यमा अन्य मन्दिर पनि थप्दै जाने उनीहरूको योजना छ । सांस्कृतिक सम्पदालाई आफ्नो पुरानो अवस्थितिमा नै आर्काइभिङ गरेर राख्न यो प्रविधि महत्वपूर्ण हुने विद्यार्थीहरूको ठम्याइ छ । २०७२ सालको विनाशकारी भूकम्पलाई स्मरण गर्दै उनीहरू भन्छन्, “केही विपत्ति आएर सम्पदामा क्षति पुगेमा यस्तै डिजिटल आर्काइभलाई हेरेर पहिले संरचना जस्तो थियो त्यस्तै अवस्थामा फर्काउन सकिन्छ ।”
थ्रीडी मोडेलमा सम्पदालाई जस्ताको तस्तै उतार्नका लागि ती सम्पदा स्थलमा नै प्रत्यक्ष उपस्थित भएर डेटा सङ्कलन गर्नुपर्ने टोली सदस्य न्यौपानेले बताए । उनले थपे, “अहिले कलेजको प्रोजेक्ट र एक्जामका कारणले पनि धेरै ठाउँमा गएर गर्न सकेनौँ । तर अरू मन्दिरहरू पनि डिजिटल आर्काइभिङ गर्ने योजना छ ।”

स्टिम परियोजनाका लागि प्रस्तावना तयार पार्ने क्रममा उनीहरूले म्युजियममा कालो बक्साको होलोग्राममार्फत सम्पदाको थ्रीडी मोडेल समेत देखाउने प्रस्ताव गरेका थिए । यसले सम्पदालाई म्युजियममा राख्दा दर्शकहरूका सामु अझ बढी अन्तरक्रियात्मक बनाउन मद्दत पुग्नेछ । सोही अवधारणा अनुसार ‘हाम्रो सम्पदा’ प्लेटफर्ममा हातको इशाराले थ्रीडी मोडेललाई जुम गर्ने र वरिपरि घुमाएर हेर्न सकिने जस्ता सुविधाहरू पनि थपिएका छन् ।
स्टिम प्रोजेक्टकै सिलसिलामा आफूहरूले तयार पारेको यो सामग्रीलाई पुरातत्त्व विभागमा राख्ने प्रयास समेत विद्यार्थीहरूले गरेका थिए । तर, त्यहाँको अवस्था सोचेजस्तो सहज नभएको उनीहरूको अनुभव छ । “त्यहाँ डेटा राख्ने डिजिटल अभिलेखीकरण प्रणाली एकदमै आउट डेटेड भएको र चलाउन समेत अप्ठ्यारो हुने गरेको पाइयो,” उनीहरूले भने ।
होलोग्राम प्रविधिका लागि आवश्यक उपकरणहरू चीनबाट आयात गर्नुपर्ने र यो निकै महँगो पर्ने देखिएपछि त्यसको विकल्पमा वेबसाइट बनाएर उनीहरूले आफ्नो काम सार्वजनिक गरेका छन् । वेबसाइटबाट उनीहरूले तयार पारेको मोडेल हेर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १३:२१
