close

डिजिटल वालेटमार्फत अवैध हुन्डी कारोबार भएको भन्दै प्रभावकारी नियमन गर्न सांसद घर्तीको माग

टेकपाना टेकपाना

साउन १३, २०८१ १५:३७

डिजिटल वालेटमार्फत अवैध हुन्डी कारोबार भएको भन्दै प्रभावकारी नियमन गर्न सांसद घर्तीको माग

काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले नेपालमा सञ्चालित भुक्तानी सेवाप्रदायक डिजिटल वालेटहरूको प्रभावकारी नियमन र अनुगमनको माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घर्तीले डिजिटल वालेटमार्फत अर्बौं रुपैयाँको अवैध हुन्डी कारोबार भएको भन्दै सम्बन्धित निकायलाई बेलैमा ध्यान दिन आग्रह गरिन् ।

राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलोग्राम ७०० ग्राम अवैध सुन प्रकरणमा डिजिटल वालेटहरू सजिलो पे र पेवेल संलग्न रहेको उल्लेख गर्दै उनले भनिन्, "यी कम्पनीमार्फत अवैध सुनको रकम भुक्तानी गरिएको थियो । यिनै कम्पनीले स्थापनाकालदेखि एक खर्ब २३ अर्ब ११ करोडको कारोबार गरेका थिए । यो रकममध्ये ९६ अर्ब रूपैयाँ बराबरको रकम भौचर डिपोजिटबाट भएको देखियो ।"

वालेटबाट बैंकमा र बैंकबाट वालेटमा कारोबार गर्नुपर्नेमा रकम सिधै भौचरबाट डिपोजिट गरिनु अवैध भएकाे उनले बताइन् ।  उनले थपिन्, "वालेट कम्पनीले युटिलिटी पेमेन्ट नगरी अर्बौं रूपैयाँ अवैध हुन्डी कारोबार गरेको देखिएको छ ।"

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १५:५६