काठमाडौं । एप्पलले आउँदो वर्ष अर्थात् सन् २०२५ मा ल्याउने आईफोनको नयाँ मोडेल आईफोन १७ पातलो हुने भएको छ । फोन सार्वजनिक हुनुभन्दा १४ महिना अघि नै आईफोन १७ का महत्त्वपूर्ण विवरण बाहिरिएका हुन् ।
त्यसो त सन् २०२४ का लागि तय गरिएको आईफोन १६ सार्वजनिक हुन अझै दुई महिना बढी बाँकी छ । त्यस अगावै सन् २०२५ मा सार्वजनिक हुने आईफोन १७ का प्रमुख फिचरको सूचीको बाहिरिएको छ ।
म्याक रुमर्सका अनुसार आईफोन १७ मा प्लस मोडेल हुने छैन । आईफोन १७ मा उक्त मोडेललाई के नाम दिइन्छ भन्ने कुरा स्पष्ट छैन ।
आईफोन १७ को डिजाइन
द इन्फरमेसनले उल्लेख गरे अनुसार आईफोन १७ का सबै मोडेल पातला हुनेछन् । अहिले प्रो मोडेलमा भए जस्तो टाइटानियमको केस नभई आल्मुनियम च्यासिस प्रयोग हुने बताइएको छ ।
आईफोन १४ को प्रो मोडेलदेखि कम्पनीले उपलब्ध गराउन थालेको डाइनामिक आइल्यान्ड पनि आईफोन १७ मा भिन्नै हुनेछ । खासगरी कम्पनीले सानो मेटालेन्स राख्न लागेकाले डाइनामिक आइल्यान्ड केही सानो हुने बताइएको छ ।
एप्पल विश्लेषक मिङ चि-कुवोका अनुसार कम्पनीले आईफोन १७ मा टाइटानियम फ्रेम राख्ने सम्भवना उच्च छ । खासगरी आईफोन १५ प्रो मोडेलमा कम्पनीले फ्रेममा केही प्रतिशत टाइटानियम प्रयोग गरेको थियो ।
पछिल्लो समय बजारमा आएका अन्य आईफोनको तुलनामा आईफोन १७ को डिजाइन सानो हुने बताइएको छ । यसमा ६.६ इन्चको डिस्प्ले हुने दाबी गरिएको छ । तर, डिस्प्ले सप्लायर्स चेन कन्सल्टेन्टका विश्लेषकका अनुसार कम्पनीले आईफोन १७ को बेस भेरियन्टमा ६.५५ इन्चको डिस्प्ले प्रयोग गर्नेछ ।
आईफोन १५ को प्लस मोडेलको डिस्प्ले ६.७ इन्चको छ । फोनलाई अझ पातलो बनाउन कम्पनीले विभिन्न साइजका डिस्प्ले परीक्षण गरिरहेको बताइएको छ ।
क्यामेरा डिजाइन !
त्यसो त आईफोन १६ मै पनि क्यामेराको डिजाइल आईफोन १५ वा त्यस अघिका आईफोन मोडेलभन्दा भिन्न हुने बताइएको छ । आईफोन १७ मा भने क्यामेरा तेर्सो भागमा (गुगल पिक्सेल जस्तै) हुने चर्चा छ । खासगरी फोनको पछाडि बीच भागमा क्यामेरा समावेश हुने बताइएको छ ।
एप्पलले सन् २००७ पछिका आईफोनमा क्यामेरा फोनको पछाडि पट्टि बायाँतिर राख्दै आएको छ । आईफोन १७ मा एउटा मात्र क्यामेरा हुने दाबी मिङ चि-कुओले गरेका छन् ।
एन्टिरिफ्लेक्टिङ कोटिङ
आईफोन १७ का सबै मोडेलमा एन्टिरिफ्लेक्टिङ कोटिङ हुने बताइएको छ । चिनियाँ लिकर इन्स्ट्यामन्ट डिजिटलका अनुसार यसमा स्क्रयाच रेसिस्टेन्ट एन्टी रिफ्लेक्टिभ कोटिङ हुनेछ । तर सामसङ जस्तो गोरिल्ला ग्लास आर्मर हुन्छ वा हुँदैन भन्ने चाहिँ स्पष्ट छैन ।
त्यस्तै आईफोन १७ का मोडेलमा लो-पावर ब्याकप्लेन प्रविधि भएको ओलेड डिस्प्ले हुने बताइएको छ । त्यस्तै कम्पनीले पहिलो पटक आईफोन १७ मा प्रोमोसन डिस्प्ले प्रो बाहेकका मोडेलमा उपलब्ध गराउनेछ ।
प्रोमोसन डिस्प्लेले फोनलाई १२० हर्ज रिफ्रेश रेटका साथ प्रयोग गर्न सघाउँछ र पावर खपत कम गराउन एक हर्ज रिफ्रेश रेटमा फोन प्रयोग गर्न सघाउँछ । यो खासगरी अलवेज अन डिस्प्लेका लागि उपयुक्त हुन्छ ।
आईफोन १७ लाइनअपमा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने दाबी मिङ चि-कुओले गरेका छन् । आईफोन १४ र १५ मा १२ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा रहेका छन् । आईफोन १७ मा भएको स्तरीय सेल्फी क्यामेराले फोटोको गुणस्तर उच्च बनाउने बताइएको छ ।
अर्का एप्पल विश्लेषक जेफ पुका अनुसार आईफोन १७ मा कम्तीमा आठ जीबी र्याम हुनेछ । खासगरी एप्पल इन्टेलिजेन्सका लागि त्यति र्यामलाई प्रमुख आवश्यकता मानिएको छ । त्यसैले आईफोन १६ का मोडेल पनि आठ जीबी र्यामका साथ सुरु हुने अपेक्षा गरिएको छ ।
महँगो मूल्य
द इन्फरमेसनका अनुसार आईफोन १७ को मूल्य अन्य प्रो मोडेलको तुलनामा बढी हुनेछ । अन्तर्राष्ट्रिय बजारमा यसको सुरुवाति मूल्य नै १,१९९ डलर (करिब एक लाख ६० हजार) रुपैयाँ) हुने अपेक्षा गरिएको छ । आईफोन १७ को प्रो र प्रो म्याक्स मोडेलको मूल्य झनै बढी हुन सक्ने अनुमान छ ।