काठमाडौं । अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने सवारी साधनको प्रदर्शनी ‘नाडा अटो शो २०२४’ का सबै स्टल बुक भएका छन् । १० भदौदेखि सुरु हुने अटो शोका लागि सबै स्टल बुक भएका हुन् ।
एसोसियसनले ३१ जेठदेखि ५ असारसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुलाएको थियो । प्रदर्शनीमा भाग लिने विषयमा गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले पहिलेका संस्करण जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइएको थियो ।
एसोसियसनका ईभी कमिटीका अध्यक्ष राजनबाबु श्रेष्ठले यस वर्षको अटो शोमा आईसीई गाडीभन्दा विद्युतीय गाडी बढी भएको बताए । “पहिलेको तुलानामा यस वर्ष बढी ईभी प्रदर्शन हुनेछन्,” टेकपानासँग श्रेष्ठले भने, “स्टल मात्रै १० भन्दा बढी छन् ।”
त्यसबाहेक कमर्सियल ईभीका लागि छुट्टै स्लट रहेको उनले सुनाए । श्रेष्ठका अनुसार यस वर्ष अटो शोमा ईभी बढी भएकाले पेभिलियन अलग्गै रहने गरी छुट्याइएको छैन । केही आईसीई गाडी र अधिकांश ईभी भएकाले छुट्टै पेभिलियन आवश्यक नभएको उनले बताए ।
यस वर्ष बहुप्रतिक्षित ईभीहरू प्रदर्शन हुने बताइएको छ । खासगरी मूल्य एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको ‘अवतार ११’ ईभी यस वर्ष प्रदर्शनीमा आउनेछ । ह्वावे प्रविधि समावेश भएको यो गाडी गत जेठमा नेपाल भित्रिएको थियो ।
“अहिले ओमोडा, सेरेस, डिप्पल लगायतका ब्रान्डका गाडी प्रदर्शन हुनेछन्,” श्रेष्ठले अगाडि भने, “प्रदर्शनीमा आउने कतिपय कम्पनीका गाडीको विवरण बाहिर आइसकेको छ, केहीको आउन बाँकी छ ।” नाडा अटो शोकै अवसरमा ल्याइएको टाटाको पन्च ईभी, जी सिक्स लगायतका विद्युतीय गाडीको विवरण बाहिरि आइसकेको छ ।