काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि आज विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेलको म्याद थपसम्बन्धी बहस विशेष अदालतले प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने व्यवस्था मिलाएको छ ।
अदालतको इजलासमा भइरहेको बहसलाई सर्वसाधारण र सञ्चारकर्मीले प्रत्यक्ष हेर्नसक्ने गरी व्यवस्था गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
हितानले टेकपानासँग भनिन्, “विशेष अदालतको इजलासबाहिर ग्राउन्ड फ्लोरमा सेवाग्राहीका लागि एउटा छुट्टै ‘लाइभ रुम’ को व्यवस्था छ । त्यहाँ राखिएको टिभीमा इजलासको गतिविधि प्रत्यक्ष देखिन्छ । सोही टिभीबाट मिडियाहरूले खिचेर लाइभ गरिरहनुभएको छ, जसका लागि इजलासबाट अनुमति दिइएको छ ।”
सूचना अधिकारी हितानका अनुसार यो अभ्यास केही समयअघिदेखि नै सुरु गरिए पनि हाई प्रोफाइल नेताको बहसका कारण आज यसले विशेष चर्चा पाएको हो । मंगलबार मूलधारका विभिन्न मिडियाले आफ्ना डिजिटल प्लेटफर्ममार्फत विशेष अदालतकाे बहस प्रसारण गरेका थिए, जसलाई हजाराैँले प्रत्यक्ष हेरेका थिए ।
इजलासमा सरकारी वकिल र पौडेलका निजी कानुन व्यवसायीहरूले गरेको बहसपछि अदालतले पौडेललाई कति दिन थुनामा राख्ने वा तारेखमा छाड्ने भन्नेबारे आदेश दिनेछ ।
सर्वोच्च अदालतमा पनि हालै बहसको लाइभ स्ट्रिमिङको परीक्षण गरिएको थियो । पूर्ण रूपमा नियमित नभए पनि सार्वजनिक सरोकारका मुद्दामा लाइभ देखाउने सर्वोच्चको तयारी छ । जनकपुर उच्च अदालतले सोमबारदेखि युट्युबमार्फत सार्वजनिक सुनुवाइहरूको नियमित लाइभ स्ट्रिमिङ सुरु गरेको छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ १८:२९
