काठमाडौं । सामसङले विद्युतीय गाडीका लागि नयाँ ब्याट्री प्रविधि घोषणा गरेको छ । दक्षिण कोरियाको राजधानी सोउलमा हालै भएको ‘एसएनई ब्याट्री डे २०२४’ मा कम्पनीले आफ्नो नयाँ परियोजना उद्घोष गरेको हो ।
यस सोलिड स्टेट ब्याट्री प्रविधिमा विगत छ महिनादेखि काम भइरहेको र अहिले परीक्षणका लागि केही विद्युतीय सवारी निर्माता कम्पनीकहाँ पठाइएको सामसङले जनाएको छ । कम्पनीका अनुसार ईभी निर्माताले ब्याट्रीबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।
सबै कुरा योजनाबद्ध ढङ्गले अगाडि बढे सन् २०२७ पछि यस ब्याट्री मास प्रडक्सनमा जाने कम्पनीको भनाइ छ ।
कस्तो छ ब्याट्री ?
परम्परागत लिथियम आयन ब्याट्रीको तुलनामा ईभी निर्माताले सोलिड-स्टेट ब्याट्रीलाई बढी प्राथमिकता दिएका छन् । खासगरी ब्याट्री सानो हुनुका साथै हलुका र सुरक्षित हुने भएकाले धेरैको नजरमा यस्तो ब्याट्री परेको छ ।
सामसङले ल्याउने सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ५०० वाट आवर पर केजी रहेको छ । यो भनेको परम्परागत ईभी ब्याट्रीको तुलनामा दोब्बर बढी हो । जति बढी इनर्जी डेन्सिटी भयो, रेन्ज त्यति नै बढी हुन्छ ।
यद्यपि यस ब्याट्रीको एउटा कमजोर पक्ष छ । त्यो भनेको ब्याट्रीका लागि लाग्ने मूल्य । अन्य ब्याट्रीको तुलनामा यो ब्याट्री निकै महँगो हुनेछ ।
यो ब्याट्री फुल चार्ज हुन जम्मा नौ मिनेट लाग्ने र अधिकतम ६०० माइल (करिब ९६५ किलोमिटर) सम्म रेञ्ज दिने सामसङको दाबी छ । त्यस्तै ब्याट्रीको आयु २० वर्षको हुने कम्पनीले उल्लेख गरेको छ ।