काठमाडौं । नेपाली ब्राण्ड अल्टिमा लाइफस्टाइलले गेमिङ इयरबड्स ‘अल्टिमा ब्लेज’ बजारमा ल्याउने तयारी गरेको छ । यो इयरबड्स आउँदो ६ अगस्टदेखि उपभोक्ताले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी) र इन्भाइरोमेन्टल न्वाइज क्यान्सिलेसन (ईएनसी) फिचर सहित आउने इयरबड्समा चार ओटा माइक्रोफोन छन् । यसमा ४२ घण्टा कुल प्ले टाइम भएकोले गेमरहरूले लामो समयसम्म उच्च गुणस्तरको अडिओका साथ गेम खेल्न सक्ने कम्पनीको भनाइ छ ।
गुगल तथा सिरी भ्वाइस असिस्टेन्ट सपोर्ट गर्ने इयरबड्समा र्याम्पेज मोड (rampage mode) छ, जसले लेटेन्सीलाई ४० एमएसमा घटाउँछ । यसमा ब्लुटुथ ५.३ सपोर्ट छ, जसले १५ मिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
इयरबड्सको केसमा ३८० एमएएच र बड्समा ४० एमएएच क्षमताको ब्याट्री दिइएको छ । साथै यसले फाइभसी बुस्ट चार्जिङ समेत सपोर्ट गर्छ, जसमार्फत १० मिनेटको चार्जमा १५० मिनेटको प्लेटाइम पाउन सकिने कम्पनीको दाबी छ ।
आईपीएक्स फोर रेटिङ प्राप्त इयरबड्समा ६ महिनाकाे वारेन्टी दिइएको छ । कम्पनीले लन्च अफरमा यो इयरबड्स १९ सय ९९ रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ ।