काठमाडौं । एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज कहिले सार्वजनिक हुन्छ भन्नेमा धेरै प्रविधिप्रेमीको चासो छ । आईफोनका नयाँ मोडेलहरू प्रत्येक वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने परम्परा रहेको छ । यस पटक पनि सेप्टेम्बरमै सार्वजनिक हुनेमा धेरै दुविधा छैन । तर कम्पनीले आधिकारिक रुपमा मिति घोषणा गरिसकेको छैन ।
विभिन्न स्रोतका अनुसार आईफोन १६ सिरिज बजारमा ल्याउन एप्पल तीव्र तयारीमा जुटेको छ । फोर्ब्सका अनुसार एप्पलले आईफोन १६ सिरिजको उत्पादन समयमै पूरा हुने संकेत दिएकाले सेप्टेम्बरको दोस्रो सातातिर सार्वजनिक हुने सम्भावना बलियो छ ।
पहिले पनि एप्पलले प्रायः सेप्टेम्बरको मध्यतिर आईफोन मोडलहरू सार्वजनिक गरेको थियो, विशेषगरी मङ्गलबारको दिनमा । २०१३ देखि एप्पलले १० मध्ये ६ पटक मङ्गलबार आईफोन सार्वजनिक गरेको थियो भने बाँकी चार पटक बुधबार सार्वजनिक गरेको थियो । यसै परम्परालाई ध्यानमा राख्ने हो भने आईफोन १६ सिरिज आगामी १० सेप्टेम्बर, मङ्गलबार सार्वजनिक हुने सम्भावना छ ।
यस अन्तर्गत एप्पलले आईफोन १६ सिरिजसँगै एप्पल वाच सिरिज १० र नयाँ एयरपड्स पनि सार्वजनिक गर्नेछ । त्यसपछि आईफोन १६ को प्रि-अर्डर १३ सेप्टेम्बरमा सुरु भई २० सेप्टेम्बरदेखि बिक्रीमा आउने अपेक्षा गर्न सकिन्छ ।
एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ । यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ ।