काठमाडौं । नेपाल स्थित साइबर सुरक्षा कम्पनी फ्रान्सको पेरिसमा भर्खरै सम्पन्न ओलम्पिक गेमको साइबर सुरक्षामा खटिएको खबर बाहिर आएको छ । भैरव टेकले डिजिटल पूर्वाधारको तहबाट यो विश्व स्तरीय प्रतियोगितामा खेलाडी तथा अफिसियल सहितका सहभागीहरूलाई सुरक्षा दिएको हो ।
भैरव टेकलाई कुडो प्लेटफर्मको सुरक्षाका लागि नियुक्त गरिएको थियो, जुन ओलम्पिक गेम्स पेरिस २०२४ को आधिकारिक भर्चुअल ट्रान्सलेसन सफ्टवेयर हो ।खेलकुद विश्वको महत्वपूर्ण मञ्चको रूपमा रहेको ओलम्पिकमा प्रयोगमा आएका डिजिटल सेवाहरूको सुरक्षा निकै जरुरी मानिन्छ ।
टिकेटिङ सिस्टम तथा लाइभ स्ट्रिमिङ प्लेटफर्मदेखि आधिकारिक मोबाइल एप र भर्चुअल ट्रान्सलेसन सर्भिससम्मका प्रत्येक डिजिटल पूर्वाधार साइबर सुरक्षाका हिसाबले निकै संवेदनशील हुन्छन् । यस हिसाबले संवेदनशील जानकारीको सुरक्षा, निर्बाध सेवा प्रवाहको सुनिश्चितता र प्रतियोगिताको अक्षुण्णता कायम राख्न प्रभावकारी साइबर सुरक्षाको बन्दोबस्त गर्नुपर्ने हुन्छ ।
जारी ओलम्पिक गेममा मानव विज्ञतासहित एआईबाट सञ्चालित कुडो आधिकारिक बहुभाषिक कन्फ्रेन्सिङ प्लेटफर्मको रूपमा रहेको थियो । यसले खेलाडी, अफिसियल र विश्वभरबाट सहभागीहरूबिच रियलटाइम (तत्कालको) सञ्चारमा सहजीकरण गर्ने काम गरेको थियो । खासगरी भाषिक अवरोधलाई छिचोल्नुका साथै फरक भाषीहरूबिच छरितो एवं सहज सञ्चारलाई सुनिश्चित गर्नमा यो महत्त्वपूर्ण रह्यो ।
कुडोको एआईबाट सञ्चालित स्पिच ट्रान्सलेसनले एउटा भाषामा बोलेको कुरालाई विश्वका ३० भन्दा बढी भाषामा अनुवाद गरी दिन्छ । यति मात्र होइन, यसले प्रयोगकर्तालाई साङ्केतिक सहितका १२ हजारभन्दा बढी अनुवादकहरूको सञ्जालसँग जोड्ने काम समेत गर्छ ।
ओलम्पिकका दौरान राज्य संरक्षित साइबर समूह, सामाजिक तथा राजनीतिक ह्याकिङ समूह, साइबर अपराधीबाट हुन सक्ने सम्भावित साइबर आक्रमणबाट कुडोको प्रतिरक्षा गर्ने जिम्मेवारी भैरव टेकले पाएको थियो ।
यस क्रममा नेपाली साइबर सुरक्षा कम्पनीले कुडो प्लेटफर्ममा देखिने कुनै पनि प्रकारका सन्देहास्पद गतिविधिको २४ सै घण्टा निगरानी गर्ने, प्रारम्भिक चरणमै जोखिम पहिचान गरी प्रतिक्रिया जनाउने, कुनै सुरक्षा सम्बन्धी घटना देखिए तत्काल समाधान गर्ने र नियमित सुरक्षा अडिट गर्ने जस्ता काम सम्हालेको थियो ।
भैरव टेक विश्वकै साइबर प्रतिरक्षा कम्पनीको रूपमा परिचित छ । जसले रियल टाइममा साइबर जोखिमलाई निगरानी गर्ने, पहिचान गर्ने र निष्क्रिय पार्ने प्राविधिक सोलुसन उपलब्ध गराउँदै आएको छ । सन् २०१९ मा स्थापित यो कम्पनीले आफ्नो सेवा विशेषगरी युरोप र अमेरिकी बजारमा केन्द्रित गरेको छ ।