टाटा इलेक्ट्रोनिक्समा साइबर आक्रमण: एप्पल र टेस्लाका गोप्य फाइलहरू 'डार्क वेब' मा लिक
असार ९, २०८३ ७:३२
काठमाडौं । भारतको प्रमुख प्रविधि कम्पनी ‘टाटा इलेक्ट्रोनिक्स’ मा साइबर आक्रमण भएको छ । ‘वर्ल्ड लिक्स’ नामक ह्याकरहरूको समूहले साइबर आक्रमणको जिम्मा लिँदै टाटा इलेक्ट्रोनिक्सका ग्राहकहरू एप्पल र टेस्लाका केही पाटपुर्जा डिजाइन तथा स्पेसिफिकेसन सम्बन्धी कागजातहरू लिक गरेको छ । कम्पनीले साइबर आक्रमणको सामना गरेकाे टाटा इलेक्ट्रोनिक्सले पनि पुष्टि गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार उक्त र्यान्समवेयर समूहले डार्क वेबमा २ लाखभन्दा बढी गोप्य फाइलहरू पोस्ट गरेको रोयटर्सले उल्लेख गरेको छ । साइबार आक्रमण भएको थाहा पाएपछि प्रतिकार्य प्रोटोकल (रेस्पोन्स प्रोटोकल) तत्कालै लागु गरिएको र यस घटनाले कुनै पनि व्यवसाय र सञ्चालनमा प्रभाव नपारेको टाटा इलेक्ट्रोनिक्सले जनाएको छ ।
एप्पलले साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ र यसको पूर्ण विश्लेषण भइरहेको जनाएको छ । रोयटर्सका अनुसार ह्याकर समूहले टाटालाई यस घटनासँग सम्बन्धित फिरौती रकमको समेत माग गरेको छ । यो साइबर आक्रमणको घटना एप्पलको भारतस्थित आपूर्ति शृङ्खलामा देखिएको पछिल्लो चुनौती हो । हाल टाटाले आफ्नो एक आइफोन पार्ट प्लान्ट नजिकैको खेतीयोग्य जमिन दूषित पारेको आरोपमा पनि अनुसन्धानको सामना गरिरहेको छ ।
टाटा चीनबाहिर एप्पलको सबैभन्दा महत्त्वपूर्ण उत्पादन साझेदारहरूमध्ये एकका रूपमा उदाइरहेको छ । टाटा इलेक्ट्रोनिक्सलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई इलेक्ट्रोनिक्स उत्पादनको पावरहाउस बनाउने उद्देश्यका साथ अघि सारेको अभियानको एउटा बलियो आधारस्तम्भका रूपमा लिइएको छ । टाटाको बेलायती ‘ज्यागुआर ल्यान्ड रोभर’ समूहमा पनि गत वर्ष साइबर आक्रमण हुँदा उत्पादित सामग्रीहरूको वितरण ६ हप्तासम्म ठप्प भएको थियो ।
हाल भारतमा एप्पलका आईफोन उत्पादनको करिब एकतिहाइ हिस्सा टाटा समूहले ओगटेको छ भने बाँकी उत्पादन फक्सकनले गर्दै आएको छ ।
२ लाख बढी फाइल लिक
यसअघि ‘नाइकी’ को डेटा प्रणालीमा अनधिकृत प्रवेश गरेको ‘वर्ल्ड लिक्स’ ले आफ्नो ‘डार्क नेट’ वेबसाइटमा टाटा इलेक्ट्रोनिक्सबाट चोरी भएका डेटा सार्वजनिक गरिरहेको बताएको छ । ‘वर्ल्ड लिक्स’ को वेबसाइट अनुसार टाटा इलेक्ट्रोनिक्सको उक्त डेटामा ६३० गिगाबाइट भन्दा बढीका २ लाखभन्दा धेरै फाइलहरू रहेका छन् । यसको वेबसाइटमा रहेको एउटा डेटाबेसमा एप्पलका थुप्रै फाइल र फोल्डरहरू देखिएको छ । जसमध्ये केहीको शीर्षक "com.apple.factorydata" राखिएको छ भने केही कागजातहरूमा ‘मेटेरियल स्पेसिफिकेसन’ सम्बन्धी उल्लेख गरिएको छ ।
रोयटर्सका लागि वर्ल्ड लिक्स मा रहेका टाटाका फाइलहरूको समीक्षा गरेका भारतीय साइबर सुरक्षा अनुसन्धानकर्ता राजशेखर राजहरियाले ती फाइलहरूमा इमेल, विगत केही वर्षका इभेन्ट लगहरू र विदेशी नागरिकसहित कर्मचारीहरूको राहदानी प्रतिलिपिहरू समेत रहेको बताएका छन् । वर्ल्ड लिक्सको वेबसाइट सर्च इन्जिनहरूको पहुँचभन्दा बाहिर रहेको डार्क वेब वा डार्क नेट मा मात्र उपलब्ध रहेको रोयटर्सले जनाएको छ ।
टाटाले टेस्लाका लागि पनि पार्टपुर्जाहरू बनाउने गर्दछ । ‘वर्ल्ड लिक्स’ को डेटाबेसमा रहेको एउटा फोल्डरमा एनभी३६ चार्जपोर्ट कन्ट्रोलर-नर्थ अमेरिका (NV36 Chargeport Controller - North America) लेबल लगाइएको छ, जुन टेस्लाको मोडेल वाई एसयूभीको अपग्रेड गरिएको संस्करणमा प्रयोग हुने पार्टपुर्जासँग सम्बन्धित रहेको देखिन्छ ।
त्यसैगरी, व्यापारिक गोपनीयता (ट्रेड सिक्रेट) भनी उल्लेख गरिएको सन् २०२३ को टेस्लाको अर्को कागजातले कम्पनीको प्रोजेक्ट हाइल्यान्ड का केही स्केच ड्रइङहरू पनि देखाएको छ । प्रोजेक्ट हाइल्यान्ड टेस्लाको परिमार्जित मोडेल ३ सेडान कारको सार्वजनिक रूपमै चिनिएको आन्तरिक कोड नाम हो । टेस्ला फाइलहरूमा उत्पादन स्पेसिफिकेसन र मे २०२५ मिति उल्लेख गरिएको एउटा एसेम्ब्ली कागजात पनि समावेश रहेका छन् ।
टाटा इलेक्ट्रोनिक्समा भएको साइबर आक्रमणले दिनप्रतिदिन जटिल र परिष्कृत बन्दै गइरहेका साइबर तथा र्यान्सम आक्रमणहरूप्रति विश्वव्यापी व्यवसायहरू कति संवेदनशील छन् भन्ने कुरा उजागर गरेको छ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ ८:२४
