close

के साँच्चिकै साइट क्र्याश हुने डरले यसअघि रोनाल्डोलाई युट्युब च्यानल खोल्न रोक लगाइएको थियो ?

टेकपाना टेकपाना

भदौ १०, २०८१ १४:१४

के साँच्चिकै साइट क्र्याश हुने डरले यसअघि रोनाल्डोलाई युट्युब च्यानल खोल्न रोक लगाइएको थियो ?

काठमाडौं । पछिल्ला केही दिनयता इन्टरनेटमा सबैभन्दा बढी चर्चामा रहेका व्यक्ति हुन्, स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र एक्समा सर्वाधिक बढी फलोअर भएका व्यक्तिमा पर्ने रोनाल्डो युट्युबमा जोडिए उनी इन्टरनेटमा थप चर्चाको विषय बनेका हुन् । 

रोनाल्डो युट्युबमा जोडिएको एक साता पनि भएको छैन । त्यसभन्दा अगाडि नै युट्युबमा आउनासाथ उनले कैयन् रेकर्ड तोडिसकेका छन् । यो समाचार तयार पार्दासम्म उनको युट्युब च्यानलमा चार करोड ५७ लाख सब्स्क्राइबर पुगेका छन् । 

युट्युबमा रेकर्ड ब्रेकिङ सुरुवात गरेका रोनाल्डोले त्यसअघि उक्त प्लेटफर्ममा जोडिने त्यस्तो कुनै सङ्केत दिएका थिएनन् । कुनै सञ्चारमाध्यममा पनि यस विषयबारे केही जानकारी बाहिर आएको थिएन । बरु, रोनाल्डो कहिल्यै किन युट्युब च्यानल खोल्न सक्दैनन् भन्ने विषयमा तयार पारिएका लेख, भिडिओ, शर्ट्स, रिल्स भने अनेकन् सङ्ख्यामा बनेका छन् । त्यस्ता सामग्रीमा प्रायःले युट्युबले रोनाल्डोलाई त्यस प्लेटफर्ममा च्यानल खोल्नबाट रोक लगाएको भन्ने अपुष्ट जानकारी राखिएका छन् । 

तर, आधिकारिक रूपमा न युट्युबले प्रतिबन्ध लगाएको विषयमा केही जानकारी दिएको छ न त रोनाल्डोले नै त्यस बारे कहिल्यै केही भने । रोनाल्डो युट्युबमा आउनासाथ सो प्लेटफर्मले एक भिडिओमा कमेन्ट गर्दै गोट (ग्रेटेस्ट अफ अल टाइम) भनेर कमेन्ट गरेको छ । फेसबुक, इन्स्टाग्राम र एक्समा बढी सक्रिय हुने रोनाल्डो युट्युबमा किन आएका छैनन् भन्ने चाहिं धेरैको कौतूहलताको विषय थियो । त्यसैलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएका थिए । 

स्पोर्ट्स विधामा युट्युबमा सबैभन्दा बढी भिडिओ रोनाल्डोकै हेरिएका छन् । यस्तोमा यदि रोनाल्डोले युट्युब च्यानल खोले भने भिजिटरको बाढी आएर युट्युब नै क्र्याश हुने कतिपयको तर्क थियो । सबैभन्दा पहिले यस तर्कलाई विश्लेषण गरौं । 

सिमिलर वेबका अनुसार युट्युबमा मासिक ३० अर्बभन्दा बढी भिजिटर आउने गर्छन् । त्यसमा पनि औसतमा एक पटक पेज भिजिट हुँदा प्रयोगकर्ताले ११ मिनेट २६ सेकेन्ड बिताएका हुन्छन् । गुगलपछि सबैभन्दा बढी भिजिटर आउने वेबसाइटमा युट्युब दोस्रो स्थानमा छ । सबैभन्दा बढी भिजिटर आउने साइट गुगलकै स्वामित्वमा छ, युट्युब ।

रोनाल्डो सक्रिय भएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र एक्स सबैभन्दा बढी भिजिटर आउने साइटमध्ये क्रमशः तेस्रो, चौथो र पाँचौं वेबसाइटमा पर्छन् । गुगल र युट्युब पछाडिका सामाजिक सञ्जालका प्लेटफर्मले रोनाल्डोको पोस्ट वा भिडिओमा आउने ट्राफिक धान्न सक्छन् भने युट्युबले किन धान्न नसक्नु ? त्यसैले ट्राफिक बढी आइ साइट नै क्रयाश हुन्छ भन्ने डरले युट्युबले रोनाल्डोलाई प्लेटफर्ममा आउन नदिएको भन्ने तर्क कतै मेल खाँदैन । 

त्यस्तै रोनाल्डोले विभिन्न ब्रान्डसँग व्यावसायिक सम्झौता गरेको र त्यसैको कारण उनी युट्युबमा आउन नसक्ने अर्को मिथक फैलिएको थियो । खासगरी सबै सामाजिक सञ्जालका माध्यममा ९० करोड बढी फलोअर रहेका रोनाल्डो तिनै ब्रान्डद्वारा नियन्त्रित भएकाले युट्युबमा आउन नसक्ने कतिपयको तर्क थियो । 

खासगरी सम्झौता गरिएका ब्रान्डका लागि मात्र भिडिओमा अनुहार देखाउनु पर्ने विशेष अधिकार दिइएकाले रोनाल्डो युट्युबमा आउन नसक्ने बताइएको थियो । तर, यसको पनि कुनै आधिकारिक जानकारी कतै छैन । 

रोनाल्डोले सम्झौता गरेका ब्रान्डबाहेक अन्य अवस्थामा आफ्नो अनुहार भिडिओमा देखाउनै नपाउने भन्ने जानकारी आधिकारिक रूपमा बाहिर आएको छैन । उनलाई युट्युबमा आउन पनि कुनै कानुनी कारणले रोकेको थिएन । विभिन्न किसिमका अन्तर्वार्तामा आउने रोनाल्डोले आफै आफ्नै लागि तयार पारेका भिडिओमा देखिन नपाउने भन्ने हुँदैन । त्यसैले ब्रान्डसँगको सम्झौताका कारण रोनाल्डो युट्युबमा आउन नसक्ने भन्ने जानकारी पनि मिथक नै हो । 

कतिपयले रोनाल्डोलाई युट्युबले भिडिओमा आउने भ्युजका आधारमा रकम दिन नसक्ने पनि उल्लेख गरेका थिए । सबैभन्दा बढी भ्युज रोनाल्डोको भिडिओमा आउने भएपछि युट्युबलाई भ्युज बापतको रकम तिर्न सकस हुने कतिपयको दाबी थियो । फेसबुक, इन्स्टाग्राम र एक्समा भिडिओ वा फोटो राख्दा सोझै आम्दानी गर्न नसकिने र युट्युबमा आम्दानी गर्न सकिने भएकाले रोनाल्डोलाई युट्युबले रोक लगाएको केहीको तर्क थियो । यद्यपि फेसबुकमा पछि मात्र भिडिओ मनिटाइजेसनको सुविधा आयो । 

तर, विज्ञापनका माध्यमबाट सबैभन्दा बढी रकम कमाउने प्लेटफर्मले रोनाल्डोलाई त्यस बापतको रकम तिर्न सक्दैन भन्ने हुँदैन । फोर्ब्सका अनुसार युट्युबमा सबैभन्दा बढी रकम  मिस्टर बिस्टले कमाएका थिए । यो २०२२ को तथ्याङ्क हो । त्यति बेला उनको च्यानलमा नौ करोड ७५ लाख बढी सब्स्क्राइबर थिए । 

पछिल्लो समय अर्को युट्युब च्यानल टी-सिरिजलाई पछि पार्दै बिस्ट सबैभन्दा बढी सब्स्क्राइबर भएको च्यानल बनेको छ । उनको च्यानलमा हाल ३१ करोड २० लाख बढी सब्स्क्राइबर छन् । मिस्टर बिस्टकै प्लेटफर्म भ्युस्ट्याट्सका अनुसार २०२४ मा उनले ३० करोड १० लाखदेखि आठ करोड ६० लाख डलरसम्म आम्दानी गरेका छन् ।

यता रोनाल्डोको च्यानलमा चार दिनको अवधिमा २५ करोड ४० लाख बढी भ्युज आएको छ । यसबाट उनले ४७ हजारदेखि एक लाख चार हजार डलर आम्दानी गरेको अनुमान भ्युस्ट्याट्सले गरेको छ । त्यसैले रोनाल्डोलाई भुक्तानी दिन नसक्ने भएकाले उनी युट्युबमा नआएको भन्ने जानकारी पनि मिथक भएको देखिन्छ ।

यसअघि रोनाल्डोले टिकटक अकाउन्ट पनि खोलेको र त्यसमा फलोअर तथा भ्युअरको बाढी आएपछि टिकटकले अकाउन्ट हटाएको भन्ने चर्चा पनि चलेको थियो । तर, उक्त टिकटक अकाउन्टबारे रोनाल्डोले कहीं कतै जानकारी दिएका थिएनन् । अहिले युट्युब च्यानल सञ्जालन गर्दा उनले हरेक सामाजिक सञ्जालका माध्यमबाट त्यसको जानकारी दिएका छन् । 

जबकी विश्वव्यापी रूपमा छोटो भिडिओ पोस्ट गर्न सकिने प्लेटफर्मका रूपमा चर्चा कमाइरहेको टिकटकमा अकाउन्ट बनाएको विषयमा उनले केही भनेका थिएनन् । त्यस बाहेक सो अकाउन्टबाट भिडिओ पोस्ट हुँदा त्यसमा फर योर पेज, भाइरल जस्ता ह्याशट्याग राखिएका थिए । रोनाल्डोले त्यसरी कुनै पनि सामाजिक सञ्जालका माध्यममा फर योर पेज र भाइरल भनेर ह्याशट्याग राखेका छैनन् । 

त्यसैले रोनाल्डोले आधिकारिक रूपमा केही उल्लेख नगर्नु र कसैले झुक्याएर अकाउन्ट भेरिफाइड बनाउन सक्ने भएकाले टिकटकले उक्त अकाउन्ट हटाएको भन्ने जानकारी बाहिर आएको थियो । यद्यपि यसको पनि औपचारिक सूचना टिकटकले सार्वजनिक गरेको छैन । 

रोनाल्डोले युट्युब च्यानल सञ्चालन गरी १८ ओटा भिडिओ राखिसकेपछि त्यसको आधिकारिक जानकारी आफ्ना विभिन्न सामाजिक सञ्जालका अकाउन्टबाट दिएका थिए । उनले सामाजिक सञ्जालका अकाउन्टमा उपलब्ध गराएको लिङ्कमा क्लिक गरी कन्फर्म गर्दा सोझै युट्युब च्यानल सब्स्क्राइब हुन्छ । उनले च्यानल सञ्चालन गरेको घोषणा गर्दै भनेका थिए, “यो परियोजना सुरु गर्न पाउँदा म धेरै खुसी छु । लामो समयदेखि यो परियोजना मेरो दिमागमा थियो । हामीले यसलाई वास्तविकतामा ल्याउने अवसर पाएका छौं ।”

उनले किन युट्युब च्यानल खोल्न यतिका वर्ष पर्खिनु पर्‍यो भन्ने जानकारी भने कतै दिएका छैनन् । विश्लेषकहरूका अनुसार करिअरको उत्तरार्धमा आइपुगेका ३९ वर्षीय रोनाल्डो आफ्नो सामाजिक सञ्जालको लोकप्रितालाई कायम राखिरहन युट्युबमा आएका हुन् ।

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८१ १५:१८