काठमाडौं । एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् । 'सधैं अन' प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा थपेको कम्पनीले जनाएको छ ।
प्रयोगकताले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाट आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । साउन २९ गतेदेखि लागु हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसअन्तर्गत प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायतका सेवा लिन इन्टरनेटको पैसा लाग्ने छैन ।
“एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।
लामो वा छोटो समयका लागि देशबाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एनसेल एपले एकदमै महत्त्व राख्ने कम्पनीले जनाएको छ । रोमिङका बेलामा ग्राहकले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देशबाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् ।