close

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, १७५ रुपैयाँमा एक सातासम्म अनलिमिटेड चलाउन सकिने

टेकपाना टेकपाना

भदौ २१, २०८१ १९:३३

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, १७५ रुपैयाँमा एक सातासम्म अनलिमिटेड चलाउन सकिने

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले टिकटक प्याक सञ्चालनमा ल्याएको छ । सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश भएको हो ।

कम्पनीका अनुसार ग्राहकले करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँछन् । यसमा अन्य प्रयोजनका इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि पाइने छ ।

सरकारबाट टिकटक प्रतिबन्ध फुकुवा भएसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाटै चलाउन पाउँछन् ।

“नेपालमा औधी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागतयोग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,” एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने ।

उनले अगाडि भने, “हामीले आजैबाट लागु हुनेगरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहकलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।”

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याक प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकले अन्य बन्डल सेवाहरू बाहेकका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।  त्यस्तै सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् ।

सधैं अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८१ १९:३९