काठमाडौं । एप्पलले नयाँ म्यागसेफ चार्जर ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा कम्पनीले फास्ट चार्जिङ सुविधा सहित म्यागसेफ चार्जरको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।
यो चार्जरलाई एप्पलको अहिलेसम्मकै फास्ट वायरलेस चार्जरको रूपमा प्रस्तुत गरिएको छ । यसअन्तर्गत म्यागसेफ चार्जरमै पहिलो पटक २५ वाट वायरलेस चार्जिङको सुविधा दिइएको छ ।
एप्पलको आधिकारिक वेबसाइटका अनुसार नयाँ म्यागसेफ चार्जरले ३० वाट यूएसबी-सी पावर एडाप्टरसँग जोड्दा आईफोन १६ सिरिजका फोनहरूलाई केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।
यसले प्रयोगकर्ताहरूलाई छिटो चार्ज गरेर समय बचाउन मद्दत गर्ने कम्पनीको विश्वास छ । योसँगै साधारण २० वाट एडाप्टरको तुलनामा आईफोन १६ वायरलेस रूपमा आईफोन १५ भन्दा पनि छिटो चार्ज हुनेछ । तर, २५ वाट चार्जिङ दर नयाँ आईफोनको लागि मात्रै हो ।
नयाँ म्यागसेफ चार्जरले आईफोन १२ देखि आईफोन १५ सम्मका फोनलाई १५ वाटसम्म मात्र चार्ज गर्छ भने आईफोन ८ देखि आईफोन ११ सम्मका फोनलाई ७.५ वाटसम्म मात्र चार्ज प्रदान गर्छ ।
यो चार्जरले क्यूआई टू (Qi2) र क्यूआई (Qi) चार्जिङ मापदण्डहरू समेत समर्थन गर्ने भएकाले एयरपड्स लगायतका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ ।
नयाँ म्यागसेफ चार्जरको मूल्य एक मिटरको विकल्पको लागि ३९ डलर र दुई मिटरको विकल्पको लागि ४९ डलर तोकिएको छ ।
म्यागसेफप्रविधिको प्रयोगले चार्जरलाई आईफोनको पछाडि चुम्बकीय रूपमा जोड्न सजिलो बनाएको छ । जसकारण एक हातले पनि चार्ज गर्न सकिन्छ भने चार्जरलाई सजिलैसँग जोड्न र छुट्याउन मिल्छ ।