close

विश्वका अधिकांश देशबाट हेरिएपछि ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङ ९९ मा

टेकपाना टेकपाना

भदौ २८, २०८१ ९:२

विश्वका अधिकांश देशबाट हेरिएपछि ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङ ९९ मा

काठमाडौं । सात महिनाअघि युट्युबमा अपलोड भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ ग्लोबल ट्रेन्डिङमा परेको छ । विश्वका विभिन्न देशबाट हेरिएपछि यो गीत ग्लोबल ट्रेन्डिङमा आएको हो ।

अहिले ‘कश्मीरे पछ्यौरी’ ग्लोबल टप म्युजिक भिडिओको शीर्ष ९९औं स्थानमा छ । यस म्युजिक भिडिओको प्राविधिक पक्ष सम्हालिरहेका राजेन्द्र अर्यालका अनुसार गीत रिलिज भएको पाँच महिनासम्म यसले सामान्य भ्युज मात्र पाएको थियो ।

करिब दुई महिनादेखि यस गीतको टुक्कामा भिडिओ बनाएर फेसबुक र इन्स्टामा रिल बनाउनेहरू बढ्दै गए । त्यसपछि नेपालमा टिकटकमाथिको प्रतिबन्ध पनि खुल्यो ।

पहिले पनि धेरैले उक्त गीतमा टिकटक भिडिओ बनाएकोमा प्रतिबन्ध खुलेपछि शर्ट भिडिओ बनाउनेहरूको संख्या झन् बढ्यो । त्यसकै प्रभावले उक्त भिडिओले युट्युबमा राम्रो भ्युज पाउन थाल्यो ।

पाँच महिनासम्म करिब तीन लाख भ्युज पाएको सो भिडिओले दुई महिनाको अवधिमा एक करोड ९० लाखभन्दा बढी भ्युज पाएको छ ।

“सम्भवतः यो नै ग्लोबल ट्रेन्डिङमा परेको पहिलो नेपाली म्युजिक भिडिओ हुनसक्छ,” टेकपानासँग कुरा गर्दै अर्यालले भने, “यसअघि नेपाली म्युजिक भिडिओ ग्लोबल ट्रेन्डिङमा परेको भन्ने सुनिएको थिएन ।”

यस गीतमा बाबुकृष्ण परियार र दीपीका बयम्बुको प्रमुख आवाज छ । गीतका रचनाकार निश्चल दवाडी हुन् भने म्युजिक एरेन्जरको काम श्यामश्वेत रसाइलीले गरेका हुन् ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ ९:१८