काठमाडौं । आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा लाममा लागेका छन् ।
एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु छ ।
मुम्बईमा रहेको एप्पल स्टोरमा आईफोन १६ प्रो म्याक्स खरिद गर्न गएका उज्ज्वल शाहले आफू २१ घण्टादेखि लाइनमा लागेको बताएका छन् । “म यहाँ २१ घण्टादेखि लाइनमा छु,” शाहले इन्डिया टाइम्सलाई भनेका छन्, “हिजो राति ११ बजेदेखि म यहीँ छु । स्टोर खुल्ने बित्तिकै पहिलो आईफोन खरिद गर्ने आफैं हुन्छु भनेर म उत्साहित छु ।”
#WATCH | Maharashtra | Long queues seen outside Apple store at Mumbai's BKC - India's first Apple store.
उनले अघिल्लो वर्ष आईफोन १५ खरिद गर्न १७ घण्टा लाइन लागेको सुनाए । अर्का एक व्यक्तिले आफू बिहान ६ बजे एप्पल स्टोर आइपुगेको बताएका छन् । आईफोन १६ प्रो म्याक्स खरिद गर्ने तयारीमा रहेको भन्ने उनले आफूलाई आईओएस १८ र एप्पल इन्टेलिजेन्स फिचरले लोभ्याएको सुनाए ।
भारतीय समाचार एजेन्सी एएनआईले भारतमा रहेका विभिन्न एप्पल स्टोरको भिडिओ सार्वजनिक गरेको छ । भिडिओमा सयौं व्यक्तिहरू आईफोन खरिद गर्नका लागि लाम लागेका देखिन्छन् ।
#WATCH | Maharashtra: A huge crowd gathered outside Apple store at Mumbai's BKC - India's first Apple store.
भारतमा एप्पलले पहिलो पटक प्रो मोडेलको एसेम्बल सुरु गरेको छ । यसअघि बेस मोडेल मात्र एसेम्बल गर्दै आएको कम्पनीले यस वर्षदेखि प्रो मोडेल पनि एसेम्बल गर्न थालेको हो । भारतमै एसेम्बल भएकाले आईफोन १६ प्रो र प्रो म्याक्स मोडेल खरिद गर्न त्यहाँका नागरिक बढी उत्साहित भएको बताइएको छ ।
भारतमा आईफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ । त्यस्तै आईफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ । आईफोन १५ प्रो र प्रो म्याक्सको सुरुवाति मूल्य भारतीय बजारमा क्रमशः एक लाख ३४ हजार ९०० र एक लाख ५९ हजार ९०० रुपैया राखिएको थियो ।
अहिलेको प्रो मोडेल भारतमै बनेकाले केही सस्तो रहेको बताइएको छ । बेस मोडेलको सुरुवाति मूल्य भने अघिल्लो वर्षको जस्तै ७९ हजार ९०० र ८९ हजार ९०० भारु रहेको छ ।
#WATCH | Long queues seen outside the Apple store in Delhi's Saket
आईफोन १६ सिरिज क्यामेराको क्वालिटी, एआई फिचर र नयाँ क्यामेरा क्याप्चर बटनमा कारण बढी चर्चामा छ । स्टुडियो स्तरको आवाज, एउटा बटनबाटै क्यामेरा कन्ट्रोल गर्न सकिने र एआई फिचरको प्रयोग गरी विभिन्न कामलाई सहज बनाउन सकिने कम्पनीले जनाएको छ । तर, प्रिमियम एप्पल इन्टेलिजेन्स फिचर भने आईफोन १६ प्रयोगकर्ताले तत्कालै प्रयोग गर्न पाउने छैनन् ।