काठमाडौं । नेपालीहरूको महान चाड विजय दशमी (दशैं) आजबाट सुरु भएको छ । यस चाडको धार्मिक, सामाजिक महत्त्व त छँदै छ, सँगै लामो बिदा समेत सुरु भएको यतिबेला उपहार दिनु पनि उपयुक्त हुन्छ । चाहे आफूलाई होस् या साथी-भाइ/परिवार ।
उपहारमा पुस्तक एउटा राम्रो विकल्प हो । चाडको उपलक्ष्यमा धेरै पसलहरूले छुट पनि दिइरहेका हुन्छन् । तर यो युग डिजिटलको पनि हो । यसकारण यस दशैंमा अनलाइन माध्यमबाट पुस्तक खरिद गर्ने कि भौतिक रूपमा पसलसम्म नै पुगेर भन्नेमा अन्योलमा हुनुहुन्छ भने आज हामी त्यसबारे चर्चा गर्ने छौं:
अनलाइन माध्यमबाट पुस्तक खरिद गर्नुका फाइदा
कुन पुस्तक किन्ने भन्ने कुरा व्यक्ति अनुसार फरक पर्न सक्छ । तर धेरैको बानी पुस्तक पसलमा गएर खोज्ने हुन्छ । यो काम अनलाइनमा धेरै सहज हुन्छ । नेपालमा अनलाइन माध्यमबाट पुस्तक विक्री गर्ने प्रमुख प्लेटफर्महरू किताब यात्रा, बुक्समण्डला, रत्न बुक, थुप्रै आदिका वेबसाइट छन् । जहाँ लेखक, प्रकाशक, शीर्षक, आईएसबीएन आदि माध्यमबाट तुरुन्तै सर्च गर्न सकिन्छ । त्यसमाथि ती कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत पनि किताबहरूबारे जानकारी दिइरहेका हुन्छन् । यसका साथै भौतिक रूपमा पसलसम्म पुग्नका लागि निश्चित समयसम्म मात्र खुल्छन्, तर अनलाइन माध्यमबाट तपाईंले आफ्नो समय अनुसार पुस्तक छान्न सक्नुहुन्छ ।
त्यस्तै यदि तपाईं पसलभन्दा अलि टाढा बसिरहनु भएको छ भने अनलाइन राम्रो विकल्प हो । किनकि पुस्तक छान्ने, किन्ने काम त अनलाइन नै भयो सँगै कम्पनीले होम डेलिभरी पनि गरिदिन्छन् । यसो हुँदा पसलमा पुग्नु पर्ने बाध्यता हुँदैन । पसलमा जाने यातायात खर्चमा तपाईंले घरमा नै किताब पाउन सक्नुहुन्छ ।
यी त भौतिक किताबका कुरा भए । अनलाइनमार्फत किताब किन्नुको अर्को फाइदा हो, ईबुक अथवा अडिओ बुक पाइनु । तुलनात्मक रूपमा ईबुक र अडिओ बुक भौतिक पुस्तकभन्दा सस्ता हुन्छन् ।
अब यस पालीको दशैंमा अनलाइनबाट किताब किन्ने केही माध्यमहरू बारे चर्चा गरौं:
यो रत्न बुकले सञ्चालन गरिरहेको अनलाइन प्लेटफर्म हो । यस पटक कम्पनीले आफ्नो वेबसाइटमार्फत पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट दिइरहेको छ । जुन भौतिक पसलमा भने मान्य हुँदैन । यसका साथै यो अफर सीमित अवधिका लागि मात्र लागु छ । यहाँ यस प्लेटफर्ममा तपाईंले नेपाली डिजिटल ईबुक पनि खरिद गर्न सक्नुहुन्छ ।
पोखराबाट उदाएको बुक्समण्डला अनलाइनबाट किताब खरिद गर्ने एक अर्को राम्रो विकल्प हो । यस कम्पनीले पनि दशैं अफर सञ्चालन गरिरहेको छ । जसमा सबै किताबमा २० प्रतिशत र सीमित किताबमा ४० प्रतिशतसम्म छुट पाउन सक्नुहुन्छ । तर यो अफर पनि सीमित छ ।