close

अन्ततः एलन मस्कले ल्याए ड्राइभर बिनै गुड्ने दुई ढोके रोबो ट्याक्सी, स्टेरिङ ह्विल समेत नहुने

टेकपाना टेकपाना

असोज २५, २०८१ ११:०

अन्ततः एलन मस्कले ल्याए ड्राइभर बिनै गुड्ने दुई ढोके रोबो ट्याक्सी, स्टेरिङ ह्विल समेत नहुने

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेका छन् । बिहीबार क्यालिफोर्नियाको बरब्याङ्कमा एक कार्यक्रम आयोजना गर्दै मस्कले टेस्लाको बहुप्रतिक्षित रोबो ट्याक्सी ‘साइबर क्याब’ सार्वजनिक गरेका हुन् ।

यो गाडी ल्याउने घोषणा गरेपछि मस्कले कैयौं पकट सार्वजनिक गर्ने मिति सारे । अन्ततः लामो समयको प्रतीक्षापछि उनले रोबो ट्याक्सीको प्रोटोटाइप सार्वजनिक गरेका हुन् । 

यो रोबो ट्याक्सी पूर्ण रूपमा स्वचालित भएको जनाइएको छ । यसमा स्टेरिङ ह्विल वा पेडल्स केही पनि छैन । त्यसैले प्रडक्सनमा जानुअघि यसका लागि कम्पनीले नियामकबाट स्वीकृति लिनुपर्ने हुन्छ । 

यसको डिजाइन साइबर ट्रक जस्तै छ । यसमा पुतलीको पङ्ख जस्तै गरी खुल्ने दुई ओटा ढोका छन् । भित्रपट्टि सानो क्याबिन देखिन्छ जहाँ दुई जना मात्र अटाउँछन् । यसमा न स्टेरिङ छ, न पेडल छ, न प्लग नै छ । मस्कका अनुसार गाडीमा इन्डक्टिभ चार्जिङ प्रणाली छ, जसले वायरलेस मार्फत पावर पाउँछ । 

यो स्वचालित गाडी मान्छेले चलाउने गाडीभन्दा १० देखि २० गुणा सुरक्षित हुने मस्कको दाबी छ ।

टेस्लाले यो गाडी पूर्ण रूपमा आगामी वर्ष  टेक्सस र क्यालिफोर्नियामा सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै सन् २०२६ पछि र सन् २०२७ अघि नै साइबर क्याब प्रडक्सनमा जाने उनको भनाइ छ । 

त्यससँगै टेस्लाले अप्टिमस रोबोट विकासको काम पनि अगाडि सारेको छ । विभिन्न काम गर्न सक्ने यो रोबोट २० हजारदेखि ३० हजार डलर (करिब २६ लाख ६० हजारदेखि ३९ लाख ९० हजार रुपैयाँ) सम्म पर्ने बताइएको छ । “यो धेरै ठूलो डिल हो,” रोबोट सार्वजनिक गर्दै मस्कले भने, “यसले जीवन बचाउँछ, धेरैको जीवन बचाउँछ र चोटपटक लाग्नबाट जोगाउँछ ।”

टेस्लाका अनुसार रोबो ट्याक्सीलाई सञ्चालन गर्न अहिले म्यापिङको काम भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८१ ११:३०