काठमाडौं । अभिनेता, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्र ‘दिमाग खराब’ ओटीटी एपमा रिलिज भएको घोषणा गरे । हलमा प्रदर्शन भइरहेको बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले कम शो पाएको भन्दै उनले विकल्प खोज्ने बताएका थिए ।
त्यस लगत्तै सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले चलचित्र ‘दिमाग खराब’ ‘एमएसएम भिडिओ’ नामको नयाँ नेपाली ओटीटी प्लेटफर्ममा आएको जानकारी दिए । पोस्टमा एप डाउनलोड गर्ने लिङ्क पनि राखिएको थियो । तर, एपमा लगइन गर्नै सकस परेको सामाजिक सञ्जाल प्रयोगकर्ताले गुनासो गरेका छन् ।
बस्नेतको पोस्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘ओटीपी’ कोड नै नआएको गुनासो गरेका छन् । एपमा लगइन गर्ने क्रममा कोड जिमेलको स्पाम वा जङ्क फोल्डरमा जानसक्ने भनिए पनि कोड कहीं नआएको सामाजिक सञ्जाल प्रयोगकर्ताको गुनासो छ ।
बस्नेतको पोस्टमा गुनासो गर्ने प्रयोगकर्ताको कमेन्टमा एमएसएम भिडिओको फेसबुक पेजबाट रिप्लाई गरिएको छ । त्यसमा ओटीपी कोड ‘१२३४’ राख्न भनिएको छ । तर, त्यही कोड राख्दा पनि लगइन नहुने समस्या छ ।
दिमाग खराबबाहेक सो एपमा ‘महाजात्रा’ र ‘घरज्वाँइ’ फिल्म रिलिज भएका छन् ।