काठमाडौं । एडोबीले आफ्नो एडोबी क्रियटिभ क्लाउड अन्तर्गतका एपहरूमा थप नयाँ एआई फिचर उपल्बध गराएको छ । कम्पनीले हालै सम्पन्न एक कार्यक्रममार्फत फोटोशप, इलुस्ट्रेटर, इनडिजाइन, प्रिमियर प्रोमा नयाँ एआई फिचरहरू थप गरेको हो ।
यससँगै यी एप्लिकेसनहरू एआई फिचरले भरिभराउ बनेका छन् । जसले गर्दा काम गर्न थप सजिलो हुने अनुमान गरिएको छ । यो सँगै फोटो सम्पादनका लागि राम्रो मानिने फोटोशपमा कतिपय काम स्वत: हुने उल्लेख गरिएको छ ।
फोटोशप:
'डिस्ट्रयाकसन रिमुभल' फिचर रिमुभल टुलको एक्सटेन्सन हो । यसले फोटोमा भएका अनावश्यक वस्तुहरू स्वत पहिचान गरेर तिनलाई हटाइदिन्छ ।
उदाहरणका लागि तार, मान्छे आदि । कम्पनीका अनुसार यो फिचर फोटोशपको डेस्कटप र वेब एप दुवैमा उपलब्ध भइसकेको छ । यो फिचर एडोबीले गत वर्षदेखि परीक्षण गरिरहेको थियो ।
अब प्रयोगकर्ताहरूले रिमुभ टुलमा एआई अथवा म्यानुअल कुन रोज्ने भन्ने विकल्प पाउने छन् । यो काम फोटोको आधारमा स्वत: हुने बताइएको छ ।
जेनेरेटिभ फिल, जेनेरेटिभ एक्सपान्ड, जेनेरेटिभ सिमिलर, जेनेरेटिभ ब्याकग्राउन्ड टुल पनि फोटो शपमा उपलब्ध भएको छ । यसका साथै फायरफ्लाई इमेज थ्री मोडल पनि अपडेट गरिएको छ । अब यस मोडलले पहिलेको तुलनामा वास्तविक लाग्ने फोटो तयार पार्ने दावि गरिएको छ ।
फोटोशपको वेब एपमा फोटोको सबै अब्जेक्ट सेलेक्ट गरेर आफू अनुसार सम्पादन गर्न मिल्ने गरी एआई टुल आएको छ ।
इलुस्ट्रेटर :
-नयाँ आएको 'अब्जेक्ट अन पाथ' फिचरले अट्याच, एरेन्ज र अब्जेक्टलाई सार्न सजिलो बनाउने छ ।
थ्रीडी मोडलको डिजाइन गर्दा आवश्यक पर्ने मकअप टुल पनि उपलब्ध भएको छ ।
फोटोलाई भेक्टरमा रुपान्तरण गर्ने टुलमा पनि सुधार गरिएको छ ।
इनडिजाइन र प्रिमियर प्रो :
फोटोशपमा भएको जेनेरेटिभ एक्सपान्ड टुल अब इनडिजाइनमा पनि उपलब्ध भएको छ ।
एडोबीले हालै सार्वजनिक गरेको फायरप्लाई एआई भिडिओ मोडल प्रिमियर प्रोमा उपलब्ध भएको छ । यसले जेनेरेटिभ एक्सपान्ड जसरी काम गर्नेछ ।
समग्रमा एडोबीले ल्याएको यी फिचरका कारण क्रियटिभ काम गर्ने प्रक्रिया थप सरल र सहज हुने अनुमान छ ।